२०८२ असार ८, आइतवार , ०३:२८:०४ बजे

Sajhamanch
'

राष्ट्र बैंकले आज फेरि ६० अर्ब निक्षेप खिच्दै

आइतवार, असार ८, २०८२

काठमाडौं । वित्तीय क्षेत्रमा लगानीयोग्य रकम अर्थात् तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँ निक्षेप खिच्दैछ । बोलकबोलमार्फत ६० अर्ब रुपैयाँ खिच्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालू आर्थिक वर्ष २०८१/८२ शुरुआतदेखि नै राष्ट्र बैंकले निरन्तर तरलता खिच्दै आएको छ । अनलाइन खरिद प्रणालीमार्फत बोलकबोल गर्न लागेको निक्षेपको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ ।

आज बोलकबोल हुने निक्षेप सङ्कलन उपकरणको सावाँ तथा ब्याज २०८२ साउन १८ गते भुक्तानी हुने राष्ट्र बैंकले जनाएको छ । आजका लागि जारी बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

अहिले वित्तीय प्रणालीमा कुल निक्षेप ७० खर्ब रुपैयाँमाथि पुगेको छ । बैंकमा ठूलो मात्रमा निक्षेप थ्रुपिए पनि लगानी हुन सकिरहेको छैन । कर्जा प्रवाह नबढ्ने र बैंकमा अधिक तरलता भए पनि राष्ट्र बैंकले रकम खिच्दै आएको छ ।

राष्ट्र बैंकले बोलकबलमार्फत पूँजी धेरै हुँदा मात्रै नभई कम हुँदा पनि मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ । गएको हप्ता पनि नेपाल राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँ खिचेको थियो ।

सम्बन्धित खबर