
इलाम। इलाममा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
रोङ गाउँपालिका ६ स्थित सिद्धिखोला किनारको घारीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको हो । अन्दाजी वर्ष ५०/५५ की मृतक महिलाको सनाखत हुन सकेको छैन ।
हात्तीले लछारपछार गरी मारेको महिलाको शव वीभत्स रहेको प्रहरीले जनाएको छ । महिलाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।
त्यस्तै रोङ ६ को पुछार गाउँका पूर्णबहादुर राईको घरसमेत हात्तीले भत्काएको छ । हिजो साँझ ५ः३० बजे प्रहरी चौकी जिर्मलेमा घटनाको खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक इन्द्रप्रसाद साहको कमाण्डमा प्रहरी टोली खटिएको थियो ।
यसअघि गत असोज २८ गते राति इलामको चुलाचुलीमा जंगली हात्तीको आक्रमणमा परी एक वृद्धको मृत्यु भएको थियो । घरनजिकै रहेको धान खेतमा आएको हात्ती खेदाउन जाँदा हात्तीको आक्रमणबाट चुलाचुली– १ का ७३ वर्षीय राजकुमार राईको मृत्यु भएको हो ।
विगत ४ महिनादेखि लगातार रोङ गाउँपालिकामा हात्तीले दुःख दिँदै आएको प्रहरी चौकी जिर्मलेका प्रहरी सहायक निरीक्षक साहले बताए । भारतको खैरबनी जंगल र झापाको बाहुनडाँगीबाट जाने गरेका हात्तीले रोङमा जनधनको क्षति गर्दै आएका छन् ।