
काठमाडौं । आइतबार पनि प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विरोध गरेको छ ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग राखेर राखेर विपक्षी दलहरूले जेठ १३ गतेदेखि विरोध गर्दै आएका छन् ।
३० जेठमा दुई बुँदे सहमति गरेर माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी संसद्को कारबाहीमा सरिक भएका छन् । तर, रास्वपा र राप्रपा निरन्तर विरोधमा छन् । आज २६ औं दिनमा पनि विरोध जारी राखेको छ ।
बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध गरे । सभामुखले समय दिएपछि रास्वपाका सांसद असिम शाहले एक महिनादेखि संसद्मा नाटक मञ्चन भइरहेको बताए ।
मानव तस्करी जस्तो विषयमा सरकार गम्भीर नभएको उनले आरोप लगाए । भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन समिति गठन हुनुपर्ने उनको माग छ ।
विगतका एक जना सांसद संसद्मा उभिए पनि विरोध हुने र कुनै पनि मन्त्रीमाथि प्रश्न उठेपछि राजीनामा आउनुपर्ने भनेर गृहमन्त्री रमेश लेखकले भन्ने गरेको उनले स्मरण गरे । तर, आफैँमाथि गम्भीर प्रश्न उठ्दा समेत राजीनामा नदिएको बताए ।
राप्रपाका सांसद धवल शम्शेरले सरकार किन भिजिट भिसा प्रकरणमा छानबिनका लागि तयार भएन भनेर प्रश्न गरे । रास्वपा र राप्रपाको विरोधका बाबजुत सभामुखले संसदको कामकारबाही अगाडि बढाएका छन् ।