२०८२ असार ८, आइतवार , ०९:३२:०९ बजे

Sajhamanch
'

बुटवल–नारायणगढ र बीपी राजमार्गमा रातमा गाडी बन्द : नौबिसे–मलेखु सडक पनि आजदेखि ५ घण्टा बन्द हुने

आइतवार, असार ८, २०८२

काठमाडौं । बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासीको विनयी खोला र दाउन्ने क्षेत्र तथा बीपी राजमार्गमा रातमा गाडी चलाउन रोकिएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार बुटवल–नारायणगढ सडकमा रातिमा १० घण्टा गाडी चलाउन रोक लगाइएको छ ।

नारायणगढ–बुटवल सडकखण्डमा दिउँसोको समयमा यात्रुबाहक र साना गाडी चलिरहेका जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिए। उहाँका अनुसार बेलका ७ बजेदेखि बिहान ५ बजेसम्मगाडी चलाउन पूर्ण रूपमा रोक लगाइएको छ ।

अत्यधिक भार भएका गाडी नल्न नदिने निर्णय अनुसार ती गाडी वैकल्पिक मार्गका रूपमा सिद्धार्थ राजमार्ग प्रयोग गर्न सक्ने प्रहरीको भनाइ छ । निर्माणाधीन दुम्कीवासको विनयी खोला पुलको डाइभर्सन बाढीले बगाएको छ । नयाँ पुल सञ्चालनमा नआएसम्म रातमा यो खण्डमा सबैखाले गाडी चलाउन पाइनेछैन । साथै, दाउन्ने खण्डमा पनि मर्मत कार्य भइरहेको छ ।

यस्तै बाढी पहिरोको जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा गएरातिदेखि १५ दिनसम्म रातमा यात्रुवाहक गाडी चलाउन रोक लगाइएको छ । काभ्रेको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोट सडक खण्ड बढी जोखिमयुक्त भएकाले बेलुका साढे ६ बजेदेखि बिहान ५ बजेसम्म यात्रुवाहक गाडी चलाउन रोक लगाइएको हो ।

यस्तै पृथ्वी राजमार्गअन्तर्गत नौबिसे–मलेखु खण्ड आज र भोलि दुई दिन रातको समयमा बन्द हुँदैछ । राति १० बजेदेखि बिहान तीन बजेसम्म पाँच घण्टा सडक बन्द हुने मुग्लिन–नारायणगढ सडक योजना पूर्वी खण्डका प्रमुख इन्जिनियर केशव ओझाले जानकारी दिए।

बर्खाको बेला बाढी पहिरोले यात्रा जोखिमपूर्ण भएकाले यात्रु र गाडी चालकलाई जोखिम मोलेर यात्रा नगर्न, मौसम र सडकको अवस्थाबारे बुझेर मात्रै यात्रा गर्न नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आग्रह गरेका छन् ।

सम्बन्धित खबर