२०८२ असार ६, शुक्रवार , ०९:१४:०१ बजे

Sajhamanch
'

द्रोणाचार्य क्षेत्री माथि परिचर्चा गर्दै झापामा ३२औं स्मृति दिवस मनाइयो

शुक्रवार, असार ६, २०८२

झापा । जनप्रिय बामपन्थी नेता तत्कालीन सांसद द्रोणप्रसाद आचार्य ‘द्रोणाचार्य क्षेत्री’को ३२औं स्मृति दिवस आज झापाको बिर्तामोडमा सम्पन्न गरिएको छ ।

प्रेस चौतारी झापाले हरेक वर्ष असार ६ गते विशेष कार्यक्रमको आयोजना गरी द्रोणाचार्य क्षेत्रीलाई सम्झने गरेको छ । सोही अनुसार आज नयाँ पुस्तालाई द्रोणाचार्य चिनाउन परिचर्चा कार्यक्रम गरिएको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उनले द्रोणाचार्यहरुको योगदानकै जगबाट नेपालको कम्युनिष्ट आन्दोलन यहाँसम्म आएको बताए ।

परिचर्चा कार्यक्रममा बोल्दै प्रमुख अतिथि रिजालले कम्युनिष्ट आन्दोलनका निमित्त योगदान गर्नेहरुको भावनालाई आत्मसाथ गर्न नसके परिवर्तनको महत्वलाई बुझ्न नसकिने धारणा राखेका थिए ।

उनले भने, ‘द्रोणाचार्यहरुले पार्टीमा काम गरे वापत व्याजको हिसाब नगरेकै कारण आन्दोलन यहाँसम्म आएको हो ।’

जनप्रिय नेता द्रोणाचार्य क्षेत्रीको ३२औं स्मृतिमा आयोजित ‘द्रोणाचार्य क्षेत्रीको परिचर्चा’ कार्यक्रममा वरिष्ठ अधिवक्ता एवम् साहित्यकार लिला उदासी र नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका सदस्य अर्जुन राईले द्रोणाचार्य क्षेत्रीको बारेमा परिचर्चा गरेका थिए ।

सहकर्मीकै रुपमा काम गरेका वरिष्ठ अधिवक्ता उदासीले द्रोणाचार्य क्षेत्रीको योगदान ओझेलमा पर्दै गएको बताए । उनले कम्युनिष्ट आन्दोलनको विगतलाई फर्केर हेर्दा द्रोणाचार्य क्षेत्रीको योगदानलाई भुल्न नमिल्ने धारणा राखेका थिए ।

द्रोणको राजनीतिक एवम् साहित्यिक योगदान ओझेलमा पर्दै गएको भन्दै उदासीले द्रोणाचार्यको उत्तराधिकारीका रुपमा कलम, विचार र आदर्श बाँकी रहेकोले बामपन्थी पत्रकारहरुले कलम चलाउन आवश्यक रहेको सूझाव समेत दिए ।


अर्का चर्चाकार अर्जुन राईले द्रोणाचार्य क्षेत्रीको राजनीतिक योगदानका बारेमा चर्चा गरे । उनले द्रोणाचार्यको अडानले राजनीतिक विजय हासिल भएको बताए । कम्युनिष्ट आन्दोलनमा क्षेत्रीको योगदानलाई कसैले भुल्न नसकिने भन्दै पार्टी संठगनभित्र उहाँको योगदानको चर्चा हुनुले सम्मान प्रकट हुने धारणा राखे ।

प्रेस चौतारीका कोशी प्रदेश सहइञ्चार्ज गोपाल काफ्लेले द्रोणाचार्य क्षेत्रीको परिचर्चा कार्यक्रम आयोजना गर्नुको औचित्य माथि प्रकाश पार्दै सहभागीहरुलाई स्वागत गरेका थिए ।

समयक्रममा आफूले पनि द्रोणको छोटो सामिप्यता पाएको स्मरण गर्दै काफ्लेले द्रोणको सरल स्वभाव र शालीनताले धेरैको मन जितेकै कारण उनको मलामी बनेर हजारौं मानिस सहभागी भएको स्मरण गरे ।

वामपन्थी पत्रकार, राजनीतिज्ञ, साहित्यकार, लेखकको परिचय बनाएका क्षेत्रीको जीवनका बारेमा प्रेस चौतारीका पत्रकारहरु समक्ष परिचर्चा गरिएको हो ।

नयाँ पुस्तालाई द्रोणाचार्य क्षेत्रीको योगदानका बारे जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारले बताए ।

कार्यक्रमको सञ्चालन संगठनका सहसचिव तिलक योञ्जनले गरेका थिए ।

सम्बन्धित खबर