
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका अन्तर्गत दूधे आयुर्वेद औषधालयको आयोजनामा एक दिवशीय निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न गरिएको छ । शिवसताक्षी ४ बोलोचोकस्थित कृष्ण प्रणामी मन्दिर परिसरमा आयुर्वेद स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
नगरप्रमुख मेघाहाङ थोप्राको प्रमुख आतिथ्यमा शिविरको उद्घाटन गरिएको हो । उद्घाटनका क्रममा बोल्दै नगरप्रमुख थोप्राले आयुर्वेद सेवाबाट टाढा रहेका वडा र बस्तीहरूमा विशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गर्न शिविर आयोजना गरिएको बताए ।
दूर दराजका जनताहरूको आर्थिक तथा स्वास्थ्य सुरक्षामा यस्ता शिविरले महत्वपूर्ण भूमिका खेलेको उनको भनाई छ । यस्ता शिविरहरूलाई आगामी दिनमा समेत निरन्तरता दिइने नगरप्रमुख थोप्राको प्रतिबद्धता छ ।
शिविरमा आयुर्वेदका वरिष्ठ चिकित्सकहरू डा. विजय श्रेष्ठ र डा. नुतन महतोले सेवाग्राहीहरूको स्वास्थ्य परीक्षण गरी परामर्श सेवा प्रदान गरेका थिए ।
सो कार्यक्रममा मन्तब्य राख्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेले आयुर्वेद औषधिको प्रभावकारिता र सुरक्षित प्रयोगबारे महत्वपूर्ण सन्देश दिएकी थिइन् । उनले आयुर्वेद औषधिले साइड इफेक्ट नगर्ने भएकाले दीर्घकालीन रोगहरूमा यसको प्रयोग अझ प्रभावकारी हुने बताइन् ।
शिविरमा २०० जनाभन्दा बढी बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण तथा सुगर जाँच गरिएको थियो । शिविरमा ४० प्रकारका आयुर्वेद औषधिहरू निःशुल्क वितरण गरिएको दूधे आयुर्वेद औषधालयले जनाएको छ ।
कार्यक्रमले समुदायमा आयुर्वेदिक स्वास्थ्य सेवाप्रति जनचासो र भरोसा थप गरेको आयुर्वेदका कविराज निरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । उनले भविष्यमा यस्ता शिविरहरूलाई अझ व्यापक बनाई निरन्तरता दिने योजना रहेको जानकारी पनि गराए ।
उनका अनुसार शिविरमा सबैभन्दा बढी हाडजोर्नी, नशा, प्रेसर, सुगर र पेट सम्बन्धी समस्या लिएर आएका बिरामीहरुले स्वास्थ्य परीक्षण गराएर परामर्श लिएका थिए । शिविरको उद्घाटन वडा न ४ का वडाध्यक्ष विष्णु प्रसाईको अध्यक्षतामा भएको थियो ।