
काठमाडौं । सूचना प्रविधि उद्योगले विदेशीमा लगानीको लागि बाटो खुलेको छ । नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली २०७८ को चौथो संशोधन मार्फत सूचना प्रविधि उद्योगलाई विदेशी लगानीका लागि बाटो खोलिदिएको हो । यो व्यवस्थाअनुसार सूचना प्रविधि उद्योगले १० लाख अमेरिकी डलर वा त्यो बराबरको विदेशी मुद्रासम्म विदेशमा लगानी गर्न पाउने छन् ।
औद्योगिक व्यवसाय सम्बन्धी प्रचलित कानुनअनुसार सूचना प्रविधि उद्योगले आफ्नो चुक्ता पुँजीको सीमाभित्र रहने गरी सूचना प्रविधि सम्बन्धी क्षेत्रमा विदेशमा लगानी गर्न आवश्यक पर्ने विदेशी मुद्राको सटही सुविधा प्राप्त गर्ने राष्ट्र बैंकले जनाएको छ ।
विदेशमा लगानी गर्न सूचना प्रविधि उद्योगले कम्तिमा पछिल्ला तीन आर्थिक वर्षहरुमा सूचना प्रविधि सम्बन्धी सेवा निर्यात गरी विदेशी मुद्रा आर्जन गरेको हुनुपर्ने विनियमावलीमा व्यवस्था छ ।
विदेशमा लगानी गर्ने सूचना प्रविधि उद्योगले राष्ट्र बैंकले तोकेको प्रक्रिया पूरा गरी निवेदन दिनुपर्ने र निवेदन प्राप्त भएको १५ दिनमा राष्ट्र बैंकले निर्णय गरी जानकारी गराउने व्यवस्था संशोधित विनियमावलीले गरेको छ ।
विदेशी विनिमय नियमित गर्ने ऐनको व्यवस्था अनुसार विदेशमा लगानी गर्न स्वीकृति पाएका कम्पनीहरुले आर्थिक वर्ष सकिएको ६ महिनाभित्र लेखापरिक्षण प्रतिवेदन पेश गर्नुपर्ने हुन्छ ।
यस्तै विदेशमा लगानीबाट आर्जित रकम वा लगानी फिर्ता गरी नेपालमा रकम भित्र्याउँदा बैंकिङ प्रणालीमार्फत भित्र्याउनु पर्नेछ । सटही सुविधा लिई विदेशमा लगानी गरेकोमा विदेशी विनिमय अपचलन भएको पाइएमा वा प्रचलित कानून विपरीत भएको पाइएमा प्रचलित कानून अनुसार कारबाही हुने संशोधित नियामावलीमा उल्लेख छ ।