२०८२ असार २६, बिहिवार , ०३:४६:४० बजे

Sajhamanch
'

ग्वार्कोमा बनेको देशको पहिलो ‘फ्लाई ओभर’मा आजदेखि गाडी चल्ने

शुक्रवार, असार ६, २०८२

काठमाडौं । काठमाडौं उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरको ग्वार्को चोकमा फ्लाई ओभर निर्माणले पूर्णता पाएको छ ।

पटक–पटक भाका सार्दै सम्पन्न भएको ‘फ्लाई ओभर’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो विधिवत रूपमा उद्घाटन गर्दै छन् । फ्लाई ओभर निर्माणका क्रममा सास्ती भोगिरहेका नागरिक अब भने ट्राफिक जामको समस्याबाट मुक्त हुने अपेक्षा गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले काठमाडौं उपत्यकामा निर्माण सम्पन्न बहुप्रतिक्षित ग्वार्को ओभरपास परियोजना निर्माणको प्रक्रिया अगाडि बढाएको थियो ।

केन्द्रले दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । यसरी २०८० साल फागुन ११ गते ठेक्का सम्पन्न गर्ने मिति तोकिएको थियो ।

तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो । तर फेरि पनि तोकिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी म्याद थप भयो ।

आयोजनामा समस्या देखिएपछि गत पुस र माघमा गरी एक महिना जति आयोजना निर्माणको कामसमेत ठप्प भएको थियो । केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि अहिलेसम्मको झन्डै एक करोड ४७ लाख रुपैयाँ हर्जना तिराएर निर्माण सम्पन्न गरिएको जानकारी दिनुभयो । भण्डारीका अनुसार तोकिएको समयमा काम सम्पन्न हुन नसक्दा सुरूको सम्झौताभन्दा १४ करोड रुपैयाँ लागत थप भएको छ ।

यसैबीच काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीले पछिल्लो समय गाडीको बढ्दो चापसँगै उपत्यकाका विभिन्न चोकमा ट्राफिक जामको समस्या बढ्दै गइरहेको भन्दै यस्ता फ्लाई ओभर निर्माणको कार्यले ट्राफिक जाम व्यवस्थापनमा सहज हुने बताए।

गिरीले भविष्यमा अझै बढ्न सक्ने ट्राफिक जामको व्यवस्थापनका लागि उपत्यकालगायतका अन्य शहरका मुख्य चोकमा पनि यस्ता ओरपास र अन्डरपासको योजना बनाउन आवश्यक रहेको सुझावसमेत दिए।

सम्बन्धित खबर