
शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ५ ले चालू आर्थिक वर्षमा सडक स्तरोन्नति, पर्यटकीय क्षेत्रको प्रवर्धन तथा सामाजिक विकास तर्फका कामहरु धेरै गरेको पाइएको छ ।
वडाध्यक्षका रुपमा तेस्रो वर्ष काम गरिरहेका स्थानीय युवा सिकिन पासवानको सक्रिय अग्रसरताका कारण कालोपत्रे सडक विस्तार, पर्यापर्यटनमा वृद्धि एवम् समुदाय लक्षित कार्यहरुले सफलता पाइरहेका हुन् ।
आर्थिक वर्ष २०८१/०८२ मा वडा गौरवको आयोजना लगायत अन्य आयोजनाहरुको काम ९० प्रतिशत सम्पन्न भएको वडा नंं ५ को कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्षमा सो वडामा ४ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गरिएको छ । संघीय सरकारबाट ४ करोड र प्रदेश सरकारबाट विनियोजित २५ लाख रुपैयाँबाट उक्त साढे ४ किमि सडक कालोपत्रे भएको वडाध्यक्ष पासवानले बताए । शिवगञ्ज, आमबाढी, जनता हुँदै स्यालमारा सडक कालोपत्रे भएको हो ।
त्यस्तै, जनता चोक उत्तर जाने सडकसमेत कालोपत्रे गरिएको छ । वडामा पछि निर्माण भएका केही सडकहरुमा ग्राभेल गरी सडक स्तरोन्नतिको काम पनि भइरहेको वडा कार्यालयले जनाएको छ ।
नगरको वडा नं. ५ लाई कनकाई नदीको प्रभाव क्षेत्रका रुपमा चिनिन्छ । यसैले सो वडाको कनकाई नदी किनारमा तटबन्धनको काम पनि निरन्तर भइरहेको छ ।
गएको वर्षदेखि नै थालिएको तटबन्धनको कामले यसवर्ष पनि निरन्तरता पाएको हो । तटबन्धनका लागि संघीय सरकारबाट गएको वर्षसम्म ६ करोड रुपैयाँको काम भइसकेको वडाध्यक्ष सिकिन पासवनले जानकारी दिए ।
जसबाट ६५० मिटर तटबन्धन भएको छ । चालू आर्थिक वर्षमा संघीय सरकारबाट विनियोजित १ करोड रुपैयाँ बराबरको तटबन्धनको काम भएको वडा कार्यालयले जनाएको छ ।
अब वडलाई छुने कनकाई नदीको २०० मिटर खण्डमा मात्र तटबन्धन हुन बाँकी रहेको छ । वर्षौदेखि कनकाई नदी कटानको चपेटामा परेका बासिन्दाले अब क्रमशः राहत महसुस गर्न थालेको बताइन्छ । वडाध्यक्ष पासवान भन्छन्, बाँकी २०० मिटर तटबन्धन भए पछि गौरीगञ्ज १ र शिवसताक्षी ४ का बासिन्दाले पनि नदी कटानको पीडा भोग्नु पर्ने छैन ।
चालू आर्थिक वर्षमा ६ लाख ५ हजार ४५९ रुपैयाँ मात्र राजश्व संकलन गरेको वडा सचिव शुलभ दाहालले बताए । उनका अनुसार वडामा आदिबासी समुदाय धेरै, ठूला बजारहरु नभएकाले राजश्व संकलन अन्य वडाको भन्दा केही कमी देखिएको हो ।
भेलामुनी पर्यटकीय क्षेत्रको विकास
वडा गौरव आयोजनाको रुपमा भेलामुनी धार्मिक तथा पर्यटकीय क्षेत्र निर्माणलाई वडा नं. ५ ले निरन्तरता दिइरहेको छ । वडाध्यक्ष पासवानले आफू निर्वाचित भए पश्चात वडा गौरवको आयोजनाको रुपमा भेलामुनी धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासलाई अगाडि सारेका हुन् ।
पर्यटकीय क्षेत्र कनकाई नदीको पश्चिम तटमा रहेको छ । जसमा कनकाई भगवतीको मन्दिर, इन्टरलक ब्लक लगाइएको खाली ठाउँ, प्रवेश द्वार लगायत फोटो सुटका लागि रमणीय स्थानहरु निर्माण भइसकेका छन् ।
चालू आवमा विनियोजित २० लाख रुपैयाँबाट पर्यकीय स्थल परिसरमा गणेशको मन्दिर, पर्यटकीय स्थल जाने सडक तथा धार्मिक क्षेत्र परिसरमा सडक बत्ती जडान गरिएको छ ।
वडाले उक्त क्षेत्र थप व्यवस्थित गर्न र मन्दिरमा आकर्षण बढाउन ५० केजीको घण्टी जडानको तयारी गरिरहेको वडाध्यक्ष पासवानको भनाई छ । उनका अनुसार शनिबार र मंगलबारका दिन कमल गाउँपालिका, गौरीगञ्ज गाउँपालिकासम्मका भक्तजनहरु पनि पूजा गर्न कनकाई माईको मन्दिरमा आउन थालेका छन् ।
विपन्न नागरिक लक्षित कार्यक्रम
वडाले चालू आर्थिक वर्षमा विपन्न समुदाय लक्षित कार्यक्रमहरु सञ्चालन गरेको छ । महिला उद्यम कार्यक्रम अन्तर्गत गरिवी निवारणका लागि लघु उद्यम विकास तालिम सञ्चालन गरिएको हो । जसमा २ महिने सिलाई कटिङ्ग तालिममा २० जना र व्युटीपार्लर तालिममा २० जना सहभागी थिए ।
विशेष गरेर वडामा आदिबासी समुदायको उल्लेख्य बसोबास रहेकाले वडाले उक्त समुदाय लक्षित कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ । विपन्न नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै नगरले झुल वितरण गरेको छ । वडाका १०० घर परिवारलाई झुल वितरण गरिएको हो ।
यस्तै, सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरेको वडाले चालू आर्थिक वर्षमा ५० जना सुत्केरी महिलाहरुलाई पोषण, खाद्य सामग्री, झुल र नवजात शिशुका लागि दूधदानी, न्यानो कपडा वितरण गरेको वडा कार्यालयले जनाएको छ ।
वडामा अधिकांश जमिन खेतीयोग्य रहेको छ । त्यहाँका किसानलाई कृषि उत्पादनमा टेवा पुर्याउने उद्देश्यले कृषि सामग्री हस्तान्तरण गरिएको छ । वडाका ४० किसानलाई स्प्रे ट्यांकी वितरण गरिएको वडासँग तथ्यांक छ ।
सामाजिक सेवा कार्य अन्तरगत शिवसताक्षी ५ नं. वडाले मृत्यु संस्कार कार्यक्रम सञ्चालन गरेको छ । वडा भित्रका नागरिकको मृत्यु भएमा राहत रुवरुप मृतकका परिवारलाई ५ हजार रुपैयाँसहित समवेदना दिइँदै आएको वडाध्यक्ष पासवानले जानकारी दिए ।
‘कतिपय बासिन्दाहरु अति विपन्न छन्, उनीहरुसँग परिवारमा कुनै सदस्य मृत्यु भएमा मृत्यु संस्कार गर्ने खर्चसमेत हुँदैन’ वडाध्यक्ष पासवानले भने ‘वडाले त्यही आवश्कतालाई बुझेर मृत्यु संस्कार कार्यक्रम राखेको हो ।’
वडाभित्र धार्मिक संस्था वा समूहहरु धेरैवटा रहेका छन् । धार्मिक, संस्कृति र परम्पराको जर्गेना गर्ने उद्देश्यले काम गर्दै आएका वडाका धार्मिक समूहलाई बाध्यबादन सामग्री प्रदान गरिएको वडा कार्यालयले जनाएको छ ।
बसाई सरी जानेको संख्या बढ्यो
चालु आर्थिक वर्षमा शिवसताक्षी नगरपालिका वडा नं. ५ बाट २६ परिवार बसाई सरी अन्यत्र गएका छन् । वडा कार्यालयमा रेकर्ड भएको तथ्याङ्क अनुसार २६ परिवार वडाभन्दा बाहिर बसाई सरी गएका छन् भने ८ परिवार अन्य स्थानबाट वडामा बसाई सरी आएका छन् ।
त्यस्तै वडामा २९१ जनाको जन्मदर्ता गरिएको छ भने ४१ जनाको मृत्यु दर्ता गरिएको सचिव दाहालको भनाई छ । वडाले चालू वर्षमा हालसम्म ३९ जोडीको विवाह दर्ता गरेको छ । ५ जनालाई भने सम्बन्ध विच्छेदका लागि सिफारिस दिनु परेको वडा कार्यालयले जनाएको छ ।