
इटहरी । इटहरी उपमहानगरपालिका-२० स्थित सेउती पुल नजिक कोशी लोकमार्गमा मोटरसाइकल दुर्घटनामा एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन्।
प्रहरीका अनुसार धरानबाट इटहरीतर्फ आउँदै गरेको प्रदेश १-०२-०५२ प ३५६४ नम्बरको मोटरसाइकल अपराह्न करिब ३ः३५ बजे आफैँ अनियन्त्रित भई सडकमा पल्टिएको थियो। उक्त दुर्घटनामा मोटरसाइकलको पछाडि सवार इटहरी उपमहानगरपालिका-१ की ४५ वर्षीया हिरा मेघा गम्भीर घाइते भएकी थिइन्।
घटनापछि उनलाई उपचारका लागि तत्काल विराटनगरस्थित आर्य न्युरो अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा साँझ मृत्यु भएको इटहरी प्रहरीले जनाएको छ। हाल शव सोही अस्पतालमै राखिएको छ।
मोटरसाइकल चालक उनका श्रीमान् ५३ वर्षीय राजेन्द्र श्रेष्ठ सामान्य घाइते भएका छन्। उनीहरू धनकुटाको पाख्रिबास नगरपालिका-४ का स्थायी बासिन्दा हुन् भने हाल इटहरी उपमहानगरपालिका-१ मा बसोबास गर्दै आएका थिए।
प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।