
काठमाडौं । पछिल्लो १२ घण्टामा नवलपरासी पूर्वमा ठूलो पानी परेको छ । नवलपरासी पूर्वको डण्डामा सबैभन्दा धेरै ११६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै चितवनमा १०० दशमलव ४ र डोटीमा ९१ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ ।
यी क्षेत्र आसपासका नदी तथा खोलामा जलसतह बढ्न सक्ने र बाढी पहिरो जान सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
यस्तै डडेलधुुरा, दाङ, तनहुँलगातका जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका धेरै ठाउँमा गएराति पनि पानी परेको थियो ।
अहिले पनि कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ ।
कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै ठाउँमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशको पश्चिम भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । यस्तै भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ ।
मौसमविद् गोविन्द झाका अनुसार गण्डकी र लुम्बिनीका केही भागसम्म पुगेर सक्रिय मनसुनी वायु पश्चिम क्षेत्रमा फैलन पश्चिमी र स्थानिय वायु कमजोर हुनुपर्छ ।
तर अहिलेसम्म त्यस्तो अवस्था बनिसकेको छैन । पश्चिम क्षेत्रमा मनसुन नपुगे पनि पानी भने पर्दै आएको उनले बताए। अहिले देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले ५० देखि १०० मिलिमिटरसम्मलाई भारी वर्षा, १०० देखि २०० सय मिलिमिटरसम्मलाई धेरै भारी वर्षा र २०० भन्दा माथिलाई अति भारी वर्षा भन्ने गरेको छ ।