२०८२ असार ४, बुधवार , ०९:२६:१० बजे

Sajhamanch
'

कपडा बैंक र नेकपा एमाले कमलका बीचमा सम्झौता

बुधवार, असार ४, २०८२

कमल । घरमा यत्तिकै रहिरहेको र हाल प्रयोगमा नआएको लत्ता कपडा संकलन गरेर पुनः प्रशोधन गरी आवश्यक पर्नेहरुलाई निःशुल्क वितरण गरिरहेको परोपकारी संस्था क्लोथ एण्ड फुड बैंक नेपाल र नेकपा (एमाले) कमल गाउँ कमिटीबीच आपसी सम्झौता भएको छ ।

कपडा आवश्यक पर्ने लक्षित समुदाय र प्राकृतिक प्रकोपमा परेका परिवारका लागि कपडा वितरण गर्ने उद्देश्य राखी स्वर्गीय जननेता मदन भण्डारीको ७४औं जन्म जयन्तीको अवसर पारेर यसको शुभारम्भ गर्न लागिएको हो ।

यही असार १४ गते कमल–३, केर्खा बजारमा कपडा बैंकका प्रवर्तक नायक राजेश हमाल र तत्कालीन संविधानका सभा सदस्य दीपक कार्कीको संयुक्त बाहुलीबाट उद्घाटन गरिने तय भएको गाउँकमिटीका अध्यक्ष हरि ढकालले बताएका हुन् ।

अध्यक्ष ढकालले भौतिक पूर्वाधारका क्षेत्रमा कमल गाउँपालिकामा उल्लेख्य विकास भइसकेको र अब बिपन्न परिवारको सामाजिक आर्थिक विकासमा सबै राजनीतिक दल जोडिनु पर्ने आवश्यकतालाई महसुस गर्दै नेकपा (एमाले) यो कार्य अघि बढाएको बताए ।

शुरुवातमा कपडा संकलन बक्स केर्खा बजारमा राखिने भए तापनि केही समयपछि कमल गाउँपालिकाका सबै मुख्य चोकमा संकलन केन्द्र र भविष्यमा प्रशोधन र वितरण केन्द्र समेत कमल मै रहने गरी योजना बनाएको बताए ।

प्रयोगमा नआएका लत्ता कपडा संकलन गरेर पुनः प्रशोधन गरी आवश्यकताका आधारमा निःशुल्क वितरण गर्ने गरी सम्झौता भएको क्लोथ एण्ड फुड बैंकका सिईओ सागर गौतमले जानकारी दिए ।