
झापा । बङ्गलादेश क्रिकेट टिमका अलराउन्डर शकिब अल हसनमाथि ढाकाको एक अदालतले यात्रा प्रतिबन्ध लगाएको छ ।
अदालतले भ्रष्टाचार मुद्दामा अवामी लिगका पूर्वसांसद तथा क्रिकेटरबाट राजनीतिज्ञ बनेका शकिबसहित अन्य १५ जनामाथि यात्रा प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भ्रष्टाचार विरोधी आयोग (एसीसी) द्वारा दायर गरिएका दुई छुट्टाछुट्टै निवेदनहरूमा सुनुवाइपछि ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश मोहम्मद जाकिर हुसेनले यो आदेश जारी गरेको खबरमा उल्लेख छ ।
निवेदनमा शकिब र अन्यले शेयर बजारमा अवैध लगानी गरेको आरोप लगाइएको छ । यो बङ्गलादेशको शेयर बजार नियमको उल्लङ्घन हो ।
शकिब अल हसन पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टीका पूर्वसांसद हुन् । गएको वर्ष विद्यार्थी नेतृत्वको विद्रोहमा शेख हसिनालाई पदच्युत गरिएदेखि नै यी अलराउन्डर विवादमा परेका छन् ।
यस वर्षको शुरूमा ढाकाको एक अदालतले चेक ठगी मुद्दाको सम्बन्धमा शकिब अल हसनमाथि पक्राउ पुर्जी जारी गरेको थियो ।
भर्खरै पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कलन्दर्सबाट खेलेका शकिब सरकारको बर्खास्तीपछि बङ्गलादेश फर्किएका छैनन् ।