२०८२ असार ३, मङ्गलवार , ०४:०२:३९ बजे

Sajhamanch
'

यातायात व्यवस्था कार्यालय पर्साका तत्कालीन अधिकृत गौतमविरुद्ध भ्रष्टाचार मुद्दा

मङ्गलवार, असार ३, २०८२

काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र पर्साका तत्कालीन अधिकृत कमलराज गौतमविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गौतमविरुद्ध २ करोड ५१ लाख ७८ हजार ६८७ रुपैयाँ बिगो मागदाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको हो । गौतमले पदको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।

गौतम २०५५ सालमा सार्वजनिक सेवामा प्रवेश गरेका थिए । अख्तियारले सेवा प्रवेशदेखि २०७९ सालसम्मको अवधिमा गौतमको चलअचल सम्पत्तिमाथि अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा गौतमले ५ करोड ४० लाख ९८ हजार ९५५ रुपैयाँ आर्जन गरेको देखिएकोमा २ करोड ८९ लाख २० हजार २६८ रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारले जनाएको छ ।

अख्तियारले तत्कालीन अधिकृत कमलराज गौतमले गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ उनकी श्रीमती सरला नेपाललाई पनि प्रतिवादी बनाएको छ ।

सम्बन्धित खबर