२०८२ असार ३, मङ्गलवार , ०३:२५:५८ बजे

Sajhamanch
'

फिल्म र म्युजिक भिडियोमा सुर्ती सेवनका दृष्य हटाउन सरोकारवालाको आग्रह

मङ्गलवार, असार ३, २०८२

काठमाडौं । फिल्म र म्युजिक भिडियोका दृष्यमा सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्नुपर्नेमा सरोकारवाला एकमत भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कर कोषको कार्यालय र चलचित्र विकास बोर्डको सहयोगमा स्वास्थ्यखबर फाउन्डसेनले सोमबार आयोजना गरेको ‘दृष्यमा सुर्तीजन्य पदार्थको प्रयोग कथाले माग्छ र ?’ शीर्षकको कार्यक्रमका सहभागीले यसतो आग्रह गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली, एक्सन नेपालका अध्यक्ष आनन्द चन्द, कलाकार शंकर बिसीलगायतले अनिवार्य बाहेक त्यस्ता दृष्य राख्न नहुनेमा जोड दिए ।

डा। देवकोटाले कला क्षेत्रको प्रत्यक्ष प्रभाव पर्ने बताउँदै सुर्तीजन्य पदार्थ सेवनका दृष्यको विकल्प खोज्न आग्रह गरे । ‘हामी अहिले पनि टोपी मिलाउँदा राजेश हमाल (हिरोजस्तो) देखिएँ कि देखिइनँ भनेर सोच्ने गर्छौं । महिलाले कसैलाई सोच्नुहुन्छ होला । त्यो सिनेमाको प्रत्यक्ष प्रभाव हो । त्यहाँका गतिविधिले आम मान्छेको जीवनमा प्रभाव छाड्छन,’ उनले भने ।

सर्जकलाई सृजनाका विषयमा सुझाव दिन भन्दा पनि आफैंले त्यस्ता दृष्यका विकल्पमा संसारमै मानक बनाउने दृष्य सृजना गर्नतर्फ लाग्नुपर्नेमा उनले जोड दिए ।

कलाकारिता सबै क्षेत्र, वर्ग र उमेर समूहसँग जोडिने बताउँदै उनले थपे, ‘तपाईंहरू चुरोट, सुर्तीको सहाराविना नै अब्बल चरित्र निर्माण गर्न सक्नुहुन्छ ।’

विकास बोर्डका अध्यक्ष डिसीले सुर्तीजन्य पदार्थको प्रयोगलाई सृजनशीलताका उच्चतम प्रयोगबाट न्यूनीकरण गर्न सकिने बताए । फिल्ममा देखाइएको दृष्यबाट बालबालिकामा प्रभाव पर्ने कुरामा आफू केही हदसम्म सहमत रहेको बताए ।

उनले थपे, ‘बालबालिकाले सुर्तीजन्य पदार्थको प्रयोग चलचित्रबाट सिक्ने गरेका छन् भन्ने तर्कलाई केही हदसम्म मान्न सकिन्छ । यसै तर्कसँग जोडेर म मेरो विगतलाई स्मरण गर्न चाहन्छु । जतिबेला म विद्यालय तहको अध्ययन गरिरहेको थिएँ । त्यतिबेला भारतीय अभिनेता रजनीकान्तले हातले फ्याट्ट फ्याट्ट पारेको देख्दा मलाई पनि चुरोट घुमाउने रहर जागेको थियो ।’

चलचित्रका विषयवस्तुले धुम्रपान तथा लागू औषधको प्रयोगलाई बढावा मात्रै दिने नभई त्यस्ता पदार्थको प्रयोग गर्ने तरिका समेत सिकाइरहेका हुन सक्ने भन्दै सचेत रहन कला क्षेत्रलाई आग्रह गरे ।

फिल्म निर्देशक जनकदीप पराजुलीले प्रहरी, स्वास्थ्य, निजामती लगायत विभिन्न क्षेत्रले आग्रह गरेअनुसार फिल्म बनाउँदै फिल्म नै नबन्ने चिन्ता व्यक्त गरे । तर, फिल्म बनाउनुअघि बनाउनुअघि गम्भीर भएर सोच्नुपर्ने उनको भनाइ थियो ।

यसैगरी, एक्सन नेपालका अध्यक्ष आनन्द चन्दले कला क्षेत्र समाजको ऐना भएकाले विशेष सचेतना जरुरी भएको उल्लेख गरे । अध्ययन र अनुसन्धानका तथ्यांक प्रस्तुत गर्दै चन्दले चलचित्रमा चुरोट सेवन गरेको दृष्य देखेर सिकेको बताउनेहरूको संख्या उल्लेख्य रहेको बताए ।

‘जसरी अहिले फिल्म र गीतका म्युजिक भिडियोमा त्यस्ता दृष्य देखिइरहेका छन्, अप्रत्यक्ष रुपमा सुर्तीजन्य पदार्थ उत्पादकले सहयोग गरिरहेको जस्तो देखिन्छ । सर्जकहरूले सचेत हुनुपर्छ,’ उनले भने ।