२०८२ असार ३, मङ्गलवार , ०१:५७:५५ बजे

Sajhamanch
'

लम्फी स्किन नियन्त्रणमा मेचीनगर : गोठमै पुगेर खोप अभियान

मङ्गलवार, असार ३, २०८२

झापा । लम्फी स्किन रोग फैलिन नदिन मेचीनगर नगरपालिकाले प्रत्येक वडाको किसानको गोठमा पुगेर भ्याक्सिन लगाउने काम धमाधम गरिरहेको छ ।

मेचीनगरका किसानको गाई–भैसीमा लम्फी स्किन रोगको संक्रमण देखिन थालेपछि नगरपालिकाले प्रत्येक वडाको किसानको गोठमा पुगेर खोप लगाउन थालेको हो ।

नगरपालिकाकाको पशु सेवा शाखाका प्रमुख बिक्रम गुरुङले मेचीनगर–२, ४ र १४ नम्बर वडाका किसानका तीन हजार ६७५ वटा गाई–भैसीमा भ्याक्सिन लगाइएको जानकारी दिए।

उनका अनुसार विहीबार वडा नं. २ का ९३५ वटा, शुक्रबार वडा नं. ४ का १७५० वटा र आइतबार वडा नं. १४ का ९९० वटा गाई–भैसीमा भ्याक्सिन लगाइएको छ ।

सोमबार वडा नं १ का किसानको गाई–भैसीमा भ्याक्सिन लगाइने बताइएको छ । यसका लागि शाखाको प्राविधिक र पारामेटसहित १२ जनाको टोली खटिएको छ ।

लम्फी स्किन रोगका कारण हालसम्म ८६ वटा गाई–भैसीमा संक्रमण भएको छ भने करिव ९०० वटा गाई–भैसी प्रभावित भएको शाखाको भनाई छ । शाखामा स्टोर गरेर राखिएको सात हजार ५०० भ्याक्सिन मध्ये तीन हजार ६७५ वटा प्रयोग गरिसकिएको छ ।

यसअघि २५ सय रहेकोमा थप भ्याक्सिन भेटरीनरी अस्पताल तथा पशु सेवा केन्द्र झापा मार्फत पशुपंक्षी रोग अन्वेशष प्रयोगशाला, पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेश विराटनगरले उपलब्ध गराएको छ ।

उक्त रोग पन्ध्र वटै वडामा फैलिदै गएकोले समुदायमा गाई–भैसी पालिरहेका किसानहरु पनि सचेत र रोग नियन्त्रणका लागि आफ्नो घर वरीपरी सफा सुँघर राख्ने र औषधिहरुको प्रयोग गर्नु पर्ने पशु प्राविधिकहरुले सुझाव दिएका छन् ।

नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले लम्फी स्किन रोगको रोकथाम र नियन्त्रणका लागि पशु सेवा शाखाले गरिरहेको प्रयासमा किसानहरुले पनि सुरक्षित र सचेत भएर सहयोग गर्न आग्रह गरेका छन् ।

‘प्रभावित क्षेत्रका किसानहरुको गाई–भैसीलाई चाहिँने भ्याक्सिन अपुग हुन दिदैनौँ’, बुढाथोकीले भन्नुभयो–‘यसको क्षति रोक्न नियन्त्रण प्रयास भइरहेको छ । ’

सम्बन्धित खबर