२०८२ असार ३, मङ्गलवार , ०९:४६:५८ बजे

Sajhamanch
'

शिवसताक्षीमा रोजगार संवाद, कृषि र श्रमिकमैत्री नीति निर्माणमा जोड

मङ्गलवार, असार ३, २०८२

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका रोजगार सेवाकेन्द्रले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणका लागि सरोकारवाला निकायहरुसँग ‘रोजगार संवाद’ गरेको छ ।

नगरपालिकाको सभाहलमा सोमबार आयोजित संवादमा नगरभित्र न्यूनतम रोजगारी सृजना, स्थानीय स्रोत साधनको परिचालन, निजी क्षेत्रको सहभागिता र कृषिमा प्राथमिकता दिने विषयमा गहिरो छलफल गरिएको हो ।

संवादका सहभागीहरुले कृषिलाई नगरको मुख्य रोजगार स्रोतका रुपमा विकास गर्न जोड दिएका थिए । कृषकले उत्पादन गरेका वस्तुहरुको मूल्य निर्धारण, बजारीकरण, युवा पुस्तालाई कृषि पेशामा आकर्षित गर्न प्रोत्साहन कार्यक्रम ल्याउनुपर्ने सुझावहरु आएका छन ।

तालिम प्राप्त व्यक्तिहरुका उत्पादनलाई बजारीकरणको ग्यारेन्टी दिनुपर्ने र तालिमहरुलाई अझ व्यवस्थित बनाउनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए ।

रोजगार संयोजक विदुर तिम्सिनाले संकलित सुझावहरु रोजगार रणनीति निर्माणमा उपयोगी हुने बताए । उनका अनुसार निजी क्षेत्रबाट रोजगारी सिर्जना भएको भए तापनि उपयुक्त श्रमिक नपाएको गुनासो व्यवसायीहरुले गरेका छन् ।

संवादमा नेकपा एमाले नगर अध्यक्ष मेदनी दंगालले कृषि क्षेत्रमा प्रविधिको प्रयोग र जैविक मल उत्पादनमा जोड दिँदै मल उत्पादनबाट पनि रोजगारी सृजना गर्न सकिने बताए ।

नेपाली कांग्रेसका महासमिति सदस्य भक्ति सिटौलाले धानको मूल्य सुनिश्चित गरी किसानलाई खेतीतर्फ प्रोत्साहित गर्नुपर्ने धारणा राखे । अहिलेको अवस्थामा किसानले लगानी उठाउन नसकेकोले कृषि पेशामा निराशा छाएको उनको भनाई थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी नगर सभापति गंगाराम कडरियाले नगरका श्रमिकहरुको योग्यता पहिचान गरी रोजगारीको बाँडफाँट गर्नुपर्ने बताए । साथै सीपमूलक शिक्षा प्रारम्भिक तहदेखि दिनुपर्ने र वैदेशिक रोजगारी न्यूनीकरण गर्न स्थानीय रोजगारीको व्यवस्था गर्नुपर्नेमा कडरियाको जोड थियो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख मेगाहाङ थोप्राले रोजगार तथ्यांक संकलनका लागि श्रमिक डेस्क स्थापना गर्ने प्रक्रिया अगाडि बढेको जानकारी गराए ।

आगामी आर्थिक वर्षमा १ विघा जमिनमा खेती गर्ने समूह वा व्यक्तिलाई १ लाख रुपैयाँ अनुदान दिने कार्यक्रम बनाइने पनि उनले बताए ।

नगरभित्रका श्रमिकका लागि बीमा कार्यक्रम सञ्चालनमा रहेको र घाइते भए १ लाख र मृत्यु भएमा ७ लाख रुपैयाँसम्मको राहत व्यवस्था रहेको जानकारी गराए ।

कृषकले उत्पादन गरेका धानलाई सुकाउन निजी क्षेत्रसँग साझेदारीमा ड्रायर मेसिन जडानको काम अगाडि बढाइएको समेत नगरप्रमुख थोप्राले जनाएका छन् ।

कार्यक्रममा बेनु कार्की, चन्द्रप्रसाद खनाल, रुद्रमणि भट्टराई, चिरञ्जिवी लुइँटेल, राजीव घिमिरे, प्रकाश पोखरेल लगायत २२ जनाले मौखिक तथा लिखित सुझाव दिएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फे, लेखा शाखा प्रमुख प्रकाश योङ्गहाङ, योजना अधिकृत प्रकाश चौधरी, शिक्षा शाखा प्रमुख छवि ढकाललगायतको सहभागिता रहेको संवाद कार्यक्रम नगरप्रमुख मेगाहाङ थोप्राको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित खबर