
ललितपुर । पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले पाठकलाई पक्राउ नगर्न भन्दै आदेश जारी गरेको हो ।
विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा प्रकाउ गरी अुनसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोले जिल्ला अदालतबाट अनुमति लिएको थियो ।
आफूलाई गैरकानूनी रुपमा पक्राउ गर्न खोजिएको भन्दै पत्रकार पाठक उच्च अदालत पाटन पुगेका थिए । प्रारम्भिक सुनुवाइपछि नै उच्च अदालतले उनलाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार, तत्कालका लागि पत्रकार पाठकको पक्राउ रोकिएको छ ।
‘तत्काललाई गिरफ्तार गर्न पाएन । ५ गते बहस हुन्छ’ उनले भने, ‘यसपछि अदालत जुन निष्कर्षमा पुग्छ त्यही अनुसार हुन्छ । अहिलेलाई गिरफ्तारी रोकियो ।’