२०८२ असार २, सोमवार , ०६:३६:५४ बजे

Sajhamanch
'

पार्टीको १५औं महाअधिवेशन २०८३ भदौमा हुन्छ : महामन्त्री शर्मा

सोमवार, असार २, २०८२

झापा । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५औं महाअधिवेशन २०८३ भदौमा आयोजना गरिने बताएका छन् ।

नेपाली कांग्रेस झापाको विस्तारित बैठकलाई सोमबार बिर्तामोडमा सम्बोधन गर्दै महामन्त्री शर्माले २०८२ फागुनबाट पार्टीका तहगत समितिहरुको अधिवेशन शुरु भई २०८३ भदौमा महाधिवेशन हुने बताएका हुन् ।

लोकतन्त्रको स्थापनापछि कांग्रेसको नेतृत्वमा भएका विकास निर्माण र समृद्धिको प्रचार गर्न पार्टीले नसकेको तर, अन्य दलले साना उपलब्धीलाई समेत ठूलो आवाजमा प्रस्तुत गर्ने गरेको उनको टिप्पणी थियो ।

लोकतन्त्र आएपछि केही भएन भनेर नकारात्मक टिप्पणी मात्रै नगर्न आग्रह गर्दै महामन्त्री शर्माले शिक्षा, स्वास्थ्य, सूचना–सञ्चार एवं सडक सञ्जाल, विद्युत विस्तारमा उल्लेखनीय प्रगति भएको दावी गरे ।

कांग्रेस झापाको पुनर्निर्माण भइरहेको पार्टी कार्यालयलाई आधुनिकीकरण गर्न सबैको सहयोग आवश्यक रहेको बताउँदै आफूले सक्दो सहयोग पुर्याउने महामन्त्री शर्माले बताए ।

विस्तारित बैठकका बीच सगरमाथा आरोहणका क्रममा ७ हजार २०० मिटरको यात्रा पूरा गरी फर्किएका शर्मालाई नेपाली कांग्रेस झापाले सम्मान गरेको थियो ।

नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा सम्पन्न विस्तारित बैठकमा जिल्लाका पदाधिकारी, सदस्य, क्षेत्र, प्रदेशसभा क्षेत्र, गाउँ/नगर सभापतिहरुको सहभागिता थियो ।

बैठकले आगामी असार १५ गते धान दिवस मनाउने निर्णय गरेको छ । बैठकले नेपाल किसान संघको आयोजनामा हल्दिबारी गाउँ समितिका उपसभापति होम चुडालको खेतमा रोपाई गरी धान दिवस मनाउने निर्णय गरेको नेपाली कांग्रेस झापाका सचिव कृष्ण हुमागाईले बताए ।

सम्बन्धित खबर