२०८२ असार १, आइतवार , ०९:१०:०२ बजे

Sajhamanch
'

पशु स्वास्थ्य एवम् माछा पालनका लागि बिर्तामोड नगरपालिका सहयोगी बन्दै

आइतवार, असार १, २०८२

बिर्तामोड । नगरबासीको आवश्यकता पहिचान गर्दै बिर्तामोड नगरपालिका कृषिजन्य व्यवसाय, पशुपन्छी पालन गरी दूध तथा मासु उत्पादन र माछा पालन गर्ने किसानका लागि मद्धत गर्न निरन्तर अग्रसर भएको पाइएको छ ।

यही परिदृश्यलाई आत्मसाथ गरी बिर्तामोड नगरपालिकाले हरेक वर्ष पशुपन्छी तथा मत्स्य विकासका लागि ठूलो बजेट विनियोजन गर्ने गरेको छ । नगरपालिकाले आफ्नो मातहत रहेको पशुपन्छी तथा मत्स्य विकास शाखालाई आवश्यकता र माग अनुसार पर्याप्त नभए पनि उल्लेख्य बजेट विनियोजन गर्दै आएको शाखा अधिकृत दाहाल बताउँछिन् ।

विगत आर्थिक वर्षहरुमा नगरपालिकाको सिलिङ र शशर्तसमेत गरी ८० लाख रुपैयाँको हाराहारीमा पशुपन्छी तथा मत्स्य विकास शाखाले बजेट पाएको थियो । उनका अनुसार गत आर्थिक वर्षमा करिब ८० लाख रुपैयाँ बजेट पाएकोमा चालू आर्थिक वर्षका लागि ७० लाख रुपैयाँ विनियोजन भएको छ । सो बजेटबाट नगर क्षेत्रका किसानका लागि उल्लेखनीय सुविधाहरु प्रवाह भएको पाइएको छ ।

उक्त शाखा अन्तरगत पशु स्वास्थ्य एवम् पशु व्यवस्थापनसँग सम्बन्धित कार्यहरु भइरहेको शाखा अधिकृत सावित्रा दाहाल बताउँछिन् ।

जसअन्तरगत क्लिनिकल उपचार, प्रयोगशाला, खोप सेवा, नश्ल सुधार, बन्ध्याकरण, एआई, आहारा व्यवस्थापन, पशुबीमा, बजार प्रवर्धन लगायत कार्यहरु हुने गरेको शाखा अधिकृत दाहालको भनाई छ ।

चालू आर्थिक वर्षको मध्य जेठसम्म पशु स्वास्थ्य एवम् पशु व्यवस्थापन अन्तरगत उल्लेखनीय प्रगति भइरहेको पाइएको छ ।

शाखा अधिकृत दाहालका अनुसार यो समाचार तयार गर्दासम्ममा १७ हजार ६५० वटा पशुपन्छीलाई स्वास्थ्य उपचार तथा सेवा प्रवाह गरिएको छ ।

नगरबासीहरुलाई स्वस्थकर माछा खुवाउने लक्ष्य लिएर नगरपालिकाले सुरुदेखि नै मरेको माछा नगरमा भित्राउनै नदिने र माछापालक किसानलाई सहयोग पुर्याउने रणनीति बनाएको थियो ।

सोही कार्यक्रम अन्तरगत पशुपन्छी तथा मत्स्य विकास शाखाले क्षेत्र विस्तार र यान्त्रिकरणमा किसानलाई सहयोग पुर्याउँदै आएको छ । नगरमा उत्पादित माछाले तत्काल बजार नपाएको अवस्थामा त्यसलाई संरक्षण गर्ने सीप सिकाउन किसानलाई अवलोकन भ्रमणमा पनि लगिएको शाखा अधिकृत दाहालको भनाई छ ।

कृषकलाई ५० प्रतिशत अनुदानमा मेसिन औजार तथा उपकरणहरु प्रदान गरिएको थियो भने घाँसको विऊ लगायत निःशुल्क प्रदान गरिएको पाइन्छ ।

करिब ७ महिना अघि पशुपन्छी तथा मत्स्य विकास शाखाको प्रमुख कर्मचारीको रुपमा आएका पशु विकास अधिकृत डा. नगेन्द्र खड्का पछिल्लो समय गाई भैंसीमा थुनेलो र बाँझोपनाको समस्याले बिर्तामोडका दुग्ध उत्पादक किसान प्रभावित भएको बताउँछन् ।

अब आउने आर्थिक वर्षका लागि पनि आफू नेतृत्वको पशुपन्छी तथा मत्स्य विकास शाखाले विभिन्न रचनात्मक योजनाहरु बनाइरहेको उनको भनाई छ ।

बिर्तामोडलाई हरेक हिसाबले सम्भावनाको क्षेत्र रहेको बताउने पशु विकास अधिकृत डा. खड्का माछामा उत्पन्न हुने समस्याहरुको स्थालगत निरीक्षण गरी विज्ञहरुबाटै समाधान खोज्ने विषयलाई आगामी वर्षको बजेटमा समावेश गर्ने योजना रहेको सुनाउँछन् ।

पूर्वको मुख्य ब्यापारिक केन्द्र भएर पनि बिर्तामोड नगरपालिकाको ठूलो भू–भागमा कृषिजन्य तथा पशुजन्य व्यवसाय भइरहेको हो । यसले समृद्ध बिर्तामोड निर्माणका लागि अझै पनि कृषिको अपरिहार्यता कायमै छ भन्ने बुझाउँछ ।

समाचार सम्बन्धी भिडियो रिपोर्टको लागि तल क्लिक गर्नुहोस् :

सम्बन्धित खबर