
सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–२ कोदारी कोप्लाङमा राती सडक भासिएको छ । सडक भासिएपछि अरनिको राजमार्ग हुँदै चीन जोड्ने तातोपानी देखि कोदारी खण्ड अवरुद्ध छ ।
इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक जगतबहादुर राईले अविरल वर्षाका कारण भोटेकोशी–२ कोदारीमा शनिबार बेलुका ९ बजेदेखिनै सडक भासिएर राजमार्ग अवरुद्ध भएको जानकारी दिए ।
सडक विभाग, गाउँपालिका र स्थानीय हाईड्रोलाई समन्वय गरेर सडक खुलाउने प्रयास भइरहेको उनले बताए । उनका अनुसार पहिरो पन्छाएर सडक खुलाउन दिनभरजसो समय लाग्ने देखिएको छ ।
भोटेकोशी गाउँपालिकाको अध्यक्ष पासाङ नुर्पु शेर्पाले सडक विभाग र गाउँपालिका मिलेर सडक खुलाउने काम भइरहेको बताए ।
‘सडक भासिएको ठाउँमा जेसीबी र टीपर लैजाँदैछौँ, साँझ सम्ममा राजमार्ग खुलाउने गरी काम गर्नेछौं’, अध्यक्ष शेर्पाले भने, ‘सडकखण्डको ६०–७० फिट लम्बाईमा पर्ने क्षेत्रतल भासिएको छ, सडक भासिएर खोलाकै छेउमा पुगेको छ, त्यस ठाउँमा माटो नभरी सडक खुलाउन सकिँदैन ।’
भूकम्पले थिलोथिलो बनाएको उक्त सडक भासिएको हो । सडक भाँसिदा तातोपानी नाका हुँदै सञ्चालन हुने कन्टेनर ढुवानी रोकिएको छ, जसका कारण नाका पूर्णरूपमा बन्द भएको छ ।