
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रतिनिधि सभा बैठकमा विरोध जारी राखेका छन् ।
सभामुख देवराज घिमिरेले उनीहरुको नाराबाजीका बीच संसद बैठक सन्चालन गरेका छन् ।
सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराउनुसाथ राप्रपा र रास्वपाका संसादहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । सभामुख घिमिरेले उनीहरुलाई बस्न अनुरोध गरे । तर उनीहरुले मानेनन् ।
त्यसपछि सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए । त्यसपछि रास्वपा र राप्रपाका सांसदहरुले नाराबाजी सुरु गरे ।
संसदमा एकजना उभिँदा पनि संसद बैठक सञ्चालन नगर्ने प्रचलन छ ।
तर घिमिरेपछि एमालेका योगेश भट्टराई र माओवादी केन्द्रका देवेन्द्र पौडेलले बोलेका छन् । पौडेलपछि सभामुख घिमिरेले रास्वपाका सन्तोष परियारलाई बोल्न समय दिए । तर परियारले बोलेनन् ।
विपक्षी दलबाट नाराबाजी जारी रहेकै बेला सभामुख घिमिरेले रामप्रकाश चौधरीलाई बोल्न समय दिएका छन् ।