
काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न भागमा पानी पर्ने क्रम बढेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पानी परेपछि धनकुटाको कोशी, सिन्धुलीको कमला र सप्तरीको खान्दो खोलाले सतर्कता तह पार गरेको छ ।
ती क्षेत्रमा सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । साथै सप्तरीको रुपनी बजार क्षेत्रमा मध्यमदेखि ठूलो पानी परेको छ । रुपनी बजार क्षेत्र भएर बग्ने खान्दो खोलाको तटीय तथा डुवान भइरहने क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ ।
धनकुटा, सिन्धुली, सप्तरीसहित आज विभिन्न १५ जिल्लामा बाढीको मध्यम जोखिम छ । बाढी पूर्वानुमान महाशाखाले धनकुटा, भोजपुर, उदयपुर, सिन्धुली, सप्तरी, खोटाङ, काभ्रे, लमजुङ, कास्की, पर्वत, बाग्लुङ्ग, कैलाली र कञ्चनपुरका जिल्लामा बाढीको मध्यम जोखिम रहेको जनाएको छ । त्यस्तै काठमाण्डौ उपत्यकाका ललितपुर र भक्तपुरमा पनि बाढीको मध्यम जोखिम छ ।
पूर्वी नेपालबाट गएको जेठ १५ मा प्रवेश गरेको मनसुन मध्य क्षेत्र हुँदै गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँसम्म पुगिसकेको छ । कोशीसहित मधेस, बागमती, गण्डकी प्रदेशका केही भाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भागमा मनसुनी वायुको प्रभाव छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पश्चिम भागमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । पछिल्लो दुई/तीन दिनयता पानी पर्ने क्रम केही बढेको छ । विशेषगरी मनसुन सक्रिय भएका क्षेत्रमा निरन्तरजसो पानी परेको छ ।