२०८२ असार १, आइतवार , १०:३८:०९ बजे

Sajhamanch
'

बङ्गलादेशमा बिजुली निर्यात शुरु : पाँच महिनासम्म दैनिक ४० मेगावाट निर्यात गरिने

आइतवार, असार १, २०८२

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बङ्गलादेशमा बिजुली निर्यात शुरु गरेको छ । अबको पाँच महिना अर्थात् आउँदो कात्तिक २९ सम्म हरेक दिन ४० मेगावाटका दरले बङ्गलादेशमा बङ्गलादेशमा निर्यात गरिने प्राधिकरणले जनाएको छ ।

नेपालबाट भारतीय प्रसारणलाइन हुँदै बङ्गलादेश विद्युत् निर्यात गर्ने गरी २०८१ असोज १७ मा त्रिपक्षीय सम्झौता भएको थियो । शनिवार राति १२ बजेबाट बङ्गलादेशतर्फ विद्युत् निर्यात शुरु भएको प्राधिकरणका प्रवक्ता राजन ढकालले जानकारी दिए।

नेपालबाट भारततर्फ भने यसअघिदेखि नै निर्यात शुरु भइसकेको छ । हिउँदमा नेपालमा विद्युत् कम उत्पादन हुने भएपछि बर्खामा मात्रै निर्यात गर्ने सम्झौता छ । भारतीय प्रसारणलाइन हुँदै बङ्गलादेशमा नेपालले विद्युत् निर्यात गर्ने सम्झौता पत्रको अवधि पाँच वर्षको छ ।

नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीच भएको सम्झौताअनुसार दैनिक ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गरिन्छ । त्यसबापत नेपालले प्रतियुनिट ६ दशमलव ४० सेन्ट पाउनेछ ।

प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनबाट भारतको मुजफ्फरपुर विन्दुसम्म विद्युत् पु¥याउनेछ । प्रसारणलाइन प्रयोग गर्न दिएबापत भारतले बङ्गलादेशबाट निश्चित शुल्क पाउनेछ । विद्युत् निर्यात गरेबापत पाँच महिनामा प्राधिकरणले ९४ लाख डलर आम्दानी गर्ने छ ।

सम्बन्धित खबर