
मेचीनगर । धुलाबारीमा आयोजित एक कार्यक्रममा उद्योगी–व्यवसायीले सेवाग्राहीलाई सास्ती नदिई अनलाइन सिस्टमबाट सेवा दिन अनुरोध गरेका छन् ।
शुक्रबार घरेलु तथा साना उद्योग कार्यालय झापाले धुलाबारीमा मेची उद्योग बाणिज्य संघको समन्वयमा आयोजना गरेको ‘उद्योग दर्ता प्रक्रिया तथा नियमन विषयक’ अन्तरक्रिया कार्यक्रममा उद्योगी–व्यवसायीहरुले त्यस्तो माग गरेका हुन् ।
कार्यक्रममा मेची उद्योग वणिज्य संघका अध्यक्ष खेमराज प्रसाईले उद्योग कार्यालयमा फायल हराउने र धेरै अनियमितता हुने गरेको दावी गरे । उनका अनुसार सो प्रवृतिलाई कार्यालयले सुधार गर्नु पर्छ ।
होटल व्यवसायी संघ मेचीनगरका अध्यक्ष सुरेशकुमार श्रेष्ठ (गोपाल)ले घरेलु तथा साना उद्योग कार्यालयमा कुनै पनि फर्मको दर्ता गर्न जाँदा ढिलासुस्ती हुने गरेको बताए ।
उनका अनुसार सेवाग्राहीलाई कुनै पनि सास्ती र झन्झट नदिई कार्यालयबाट सेवा दिइनु पर्छ । समयको बचत र कागजी झन्झट मुक्त गर्न अब कार्यालयले अनलाइन सिस्टमको विकास गर्नुपर्ने छ ।
नेपाल भेनियर उत्पादक संघका अध्यक्ष श्यामप्रसाद न्यौपानेले उद्योग खोल्न जसरी सजिलो छ, यसको कार्यान्वयनको पाटोमा कार्यालयको नीति नियम झन्झट रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा महिला उद्यमीहरु सीता पोखरेल, लीला आचार्य, शान्ति चौधरी लगायतले उत्पादन गरिएका झोला, क्रिस्टलका माला, ढाकाका सामग्री लगायतको बजारीकरण नभएकाले उद्यमशील महिलाहरुलाई उद्योग दर्ता, नविकरणमा छुटको व्यवस्था र प्रवर्द्धनमा सहयोग गर्न आग्रह गरेका थिए ।
त्यस्तै मेची उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष पन्नालाल जैनले उद्योग दर्ता महंगो रहेको बताए । उद्योगी–व्यवसायीको हितमा हुने नीति निर्माण हुनु पर्नेमा उनले जोड दिए ।
वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष कपिल क्षेत्रीले स्वागतसहित कार्यक्रममा ऋण खान र छोराछोरी विदेश पठाउन मात्र उद्योग दर्ता नगर्न आग्रह गर्दै कार्यालयले मापदण्डको दायरा फराकिलो पारेर व्यवसायीलाई संरक्षण गर्नु पर्ने बताएका थिए ।
घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका प्रमुख पुष्पलता उप्रेतीले कर्मचारीले कानून कार्यान्वयन मात्र गर्ने बताइन् । कस्तो नीति निर्माण गर्ने भन्ने कुरा जनप्रतिनिधि र राजनीतिक अगुवाहरुले गर्ने उनको स्पष्ट धारणा थियो ।
बजेट भाषणमा आएका कुराहरुलाई संघीय र प्रदेश सरकारकले आर्थिक ऐनमा समावेश गरेपछि मात्र कार्यान्वयनमा लान सकिने उनको भनाई छ ।
उनले पर्याप्त कर्मचारी नभएको र २०३५ सालदेखिका फायल व्यवस्थित नभएका कारण सेवालाई अनलाइन सिस्टममा लान केही समस्या भइरहेको पनि स्वीकारेकी छन् । उनले उद्योग दर्ता, नविकरण र खारेजीका विषयमा जानकारी गराएकी थिइन् ।
घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरका अधिकृत छैटौँ जानकी भट्टराईले प्रविधि हस्तान्तरणका विषयमा जानकारी गराएका थिए ।
कार्यालय प्रमुख उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वबणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले गरेका थिए ।