
काठमाडौं । ललितपुरको भैँसेपाटीमा रहेको नेपाल मेडिसिटी अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको छ ।
हिजो अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण सफलतापूर्वक गरिएको कलेजो प्रत्यारोपण सर्जन डा.रामबाबु शाहले जानकारी दिए।
अस्पतालले पोखरा निवासी ५६ वर्षीया इश्वरबहादुर कार्कीको कलेजो प्रत्यारोपण गरेको हो । उनलाई उनका २६ वर्षीय छोरा आयुष कार्कीले कलेजो दान गरेका हाुन् ।
भारतको परोपकारी अस्पताल अमृता अस्पतालसँगको सहकार्यमा अस्पतालले गएको जेठ ८ गते कलेजो प्रत्यारोपण सफलतापूर्वक गरेको हो ।
सर्जन डा. शाहले कलेजो प्रत्यारोपण गर्न झन्डै १३ घण्टा लागेको बताए। पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतोले अस्पतालसँग मल्टिडिसिप्लिनरी टोली भएका कारण कलेजो जस्तो जटिल शल्यक्रिया सम्भव भएको बताए।
‘हामीले नेपालीहरु उपचारका लागि विदेश जान नपरुन् भन्ने उद्देश्यले कलेजो प्रत्यारोपण सेवा शुरु गरेका हौँ’, उनले भने, ‘अस्पतालको जनशक्तिलाई नै बलियो बनाई जस्तोसुकै जटिल स्वास्थ्य समस्यामा पनि सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने कोसिसमा रहेका छौँ ।’
उनले नेपाललाई स्वास्थ्यको ‘हब’ बनाउनका अस्पतालले विदेशका नागरिकको पनि उपचार गरिरहेको जानकारी दिए। अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट प्राध्यापक डा. उमिदकुमार श्रेष्ठका बिरामीको कलेजो तथा मिर्गौला दुवै बिग्रिसकेकाले कलेजो प्रत्यारोपण गरिएको बताए। उनले बिरामीको कलेजोकै कारण मिर्गौला खराब भएकाले हाल बिरामीको मिर्गौलामा पनि सुधार भइरहेको बताए।
अस्पतालले कलेजो प्रत्यारोपणसँगै विभिन्न अङ्गको पनि प्रत्यारोपण गर्दै आइरहेको छ । अस्पतालमा अहिलेसम्म ४५ जनाको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भइसकेको छ भने ५०० जनाभन्दा बढीको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको छ ।