२०८२ जेठ २९, बिहिवार , ०३:४०:०९ बजे

Sajhamanch
'

संसद्को अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास

बिहिवार, जेठ २९, २०८२

काठमाडौं । प्रतिनिधिसभाको जारी अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भएको छ ।

नेकपा एमालेका सचिव योगेश भट्टराईका अनुसार, यसअघि नै प्रस्ताव भएको २ बुँदे सहमतिमा टेकेर अगाडि बढ्ने प्रयास भइराखेको छ ।

बुधबार संसद् भवन नयाँ वानेश्वरमा पत्रकारहरूसँग कुरा गर्दै भट्टराईले संसद्को अवरोध खुलाउन २ बुँदामा सहमतिको प्रयास भइराखेको बताएका थिए ।

उनका अनुसार, अख्तियारको छानबिनलाई सरकारले पूर्ण सहयोग गर्ने र अध्यागमनमा भइरहेका कमजोरी सच्याउन आवश्यक पहल गर्ने विषयलाई दुई बुँदामा समेटेर सहमतिको प्रयास भइराखेको हो ।

विपक्षी दलका नेताहरू आज पनि संसद् भवन परिसरमा जुटेर सोही दुई बुँदे मस्यौदाबारे छलफल गरिरहेका छन् ।

कांग्रेस र माओवादीका बीचमा दुई बुँदामा सहमति गर्नेगरी यसअघि नै मस्यौदा प्रस्तुत भएको थियो । पहिलो बुँदामा अख्तियारले अनुसन्धान सकिनेबेलासम्म सरकार र संसदले सहयोग गर्ने उल्लेख छ ।

अख्तियारले जानकारी अनुसन्धान सकाएपछि सरकारले २०६४ साल यता भिजिट भिसामा विदेश जानेसक्ने अपारदर्शी रुपमा आर्थिक लेनदेन भए/नभएको अध्ययन गर्न आवश्यक निकाय वा संयन्त्र बनाउने भनेर दोस्रो बुँदामा राख्ने गरी मस्यौदा तयार भएको छ ।

यस्तो मस्यौदामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने तयार भएको छैन ।

सुरुमा मौन रहेको एमाले पछिल्लो समय प्रस्तावित दुई बुँदे सहमतिको मस्यौदाअनुसार अगाडि बढ्न सकिने निष्कर्षमा पुगेको हो । यही विषय एमालेका सांसद भट्टराईले पत्रकारहरूसँग राखेका हुन् ।

रास्वपाले भने छुट्टै ५ बुँदे प्रस्ताव ल्याएको छ । जसमा भिजिट भिसा प्रकरणमा छानबिन समिति बनाउने प्रस्ताव छ । यसलाई सत्तापक्षले स्वीकार गरेको छैन ।

सम्बन्धित खबर