२०८२ जेठ २९, बिहिवार , ०२:१७:०६ बजे

Sajhamanch
'

चट्याङ लागेर चारजना घाइते, तीनवटा चौपाया मरे

बिहिवार, जेठ २९, २०८२

झापा । चट्याङले लागेर झापा र धनकुटामा चारजना घाइते भएका छन् भने तीनवटा चौपाया मरेका छन् । हिजो साँझ वर्षासँगै परेको चट्याङ लागेर झापा बुद्धशान्ति गाउँपालिका –४ सट्टाभर्ना बस्ने ६० वर्षीय पुण्य पौडेल आफ्नै गाईगोठमा काम गर्ने क्रममा घाइते भएका हुन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याइएको छ । उनको दुवै आँखा र दाहिने हातमा चोट लागेको छ ।

सोही समयमा शिवसताक्षी नगरपालिका(७ टेक्रा बस्ने ४४ वर्षीया डम्बरकुमारी भुजेलको घरनजिकै रहेको गाईको गोठमा बाँधिराखेको एउटा गाई वर्षासँगै परेको चट्याङले लागेर घटनास्थलमै मरेको छ ।

घरभित्र बसिरहेकी डम्बरकुमारी समेतलाई चट्याङले भेटी उनी सामान्य घाइते भएकी छन् । मुखमा सामान्य जलेको डम्बरकुमारीको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उता धनकुटाको पाख्रीबास नगरपालिका-७ देउराली बस्ने ७० वर्षीय सूर्यबहादुर बस्नेतको घर र गोठमा चट्याङ पर्दा घरमा बसिरहेका बस्नेत घाइते भएका छन् । उनको शरीरको दाहिने भागमा चोट लागेको छ ।

उनलाई उपचारको लागि स्थानीय मेडिकलतर्फ पठाइएको छ । उनको गोठ घरमा बाँधेको एउटा गोरु र एउटा भैँसीको पाडो घटनास्थलमै मर्दा अन्दाजी ६५ हजार बराबरको क्षति भएको छ ।

त्यस्तै धनकुटा पाख्रीबास –७ थाक्ले बस्ने ५० वर्षीया टिकाकुमारी भण्डारी आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक परेको चट्याङको झड्काले लागेर घाइते भएकी छन् ।

उनलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा लगिएको प्रहरीले जनाएको छ ।अविरल वर्षासँगै परेको चट्याङले लागेर सङ्खुवासभा खाँदवारि ४ बराल गाउँ बस्ने योगराज बरुवालको गोठमा बाँधिराखेको लैनो भैँसी मरेको छ ।

सम्बन्धित खबर