२०८२ जेठ २९, बिहिवार , ०६:२२:१६ बजे

Sajhamanch
'

गर्मी बढेपछि चितवनको भरतपुर र सुनसरीको इनरुवाका विद्यालयमा ३ दिन बिदा

बुधवार, जेठ २८, २०८२

काठमाडौं । गर्मी अत्याधिक बढेपछि चितवनको भरतपुर महानगरपालिकाले विद्यालयमा बिदा दिएको छ । महानगरपालिकाले आजदेखि पर्सि शुक्रवारसम्म विद्यालयमा बिदा दिएको हो । जेठ ३१ गते शनिवार परेकाले भरतपुरका विद्यालय अब असार १ गते आइतवार खुल्नेछन् ।

महानगरको शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार आज जेठ २८ गतेदेखि लागू हुने गरी ३० गते शुक्रवारसम्म विद्यालयमा बिदा दिने निर्णय भएको छ ।

बिदाको बेलामा बालबालिकालाई दिउँसोको समयमा घर बाहिर हिँडडुल नगर्न, नदी पोखरीमा पौडी खेल्न नदिन र माछा मार्ने काममा संलग्न हुन नदिन उहाँले अभिभावकसँग आग्रह समेत गरेका छन् ।

चितवनमा पछिल्ला केही दिन तापक्रम ३७ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । पछिल्ला दुई दिन गर्मी उच्च भएको छ ।

यस्तै गर्मीका कारण सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा पनि तीन दिन बिदा दिइएको छ । आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिए।

गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर परेको र पठनपाठनमा समेत समस्या भएकाले नगर क्षेत्रभित्रका सबै विद्यालयमा बिदा दिने निर्णय गरिएको उनले जानकारी दिए। यो बिदा बर्खे बिदाबाट कट्टा हुनेछ ।

त्यसैगरी इटहरी उपमहानगरमा गर्मीका कारण आज एक दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा गरिएको थियो । तराई÷मधेसका अरू कतिपय पालिकाले पनि विद्यालयमा बिदा दिएका छन् ।

सम्बन्धित खबर