
काठमाडौं । आज दिउँसो काठमाडौं उपत्यकासहित देशका केही ठाउँमा वर्षा भएको छ । काठमाडौ उपत्यकाभित्र ललितपुरको लेले क्षेत्रमा तुलनात्मक रूपमा अलि धेरै पानी परेको छ ।
त्यस्तै गण्डकी प्रदेशमा कास्कीको लुम्ले, लुम्बिनीको सिक्टा र अमरपुर, सुदूरपश्चिमको सुतारलगायतका क्षेत्रमा पनि पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यीबाहेक अरू ठाउँमा पनि कतै–कतै छिटपुट वर्षा भएको छ ।
मौसमविद् हरिप्रसाद दाहालका अनुसार पानी परेका क्षेत्रमा गर्मीबाट केही राहत भएको छ । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा वर्षा गराउने प्रणाली सक्रिय छ । त्यो क्षेत्रका विकसित भएको वर्षा गराउने प्रणाली अहिले पूर्वतर्फ सरिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर आज दाङ, बाँके, बर्दिया, सल्यान, सुर्खेत, दैलेख र जाजरकोट जिल्ला र आसपास भएर बग्ने खोला तथा नदीहरुमा बाढीको जोखिम रहेको जनाएको छ ।
कोशी प्रदेशमा भित्रिएर शिथिल बनिरहेको मनसुन आज राति वा भोलिदेखि सक्रिय भएर पश्चिमतर्फ सर्ने र आइतवारपछि मध्यक्षेत्रबाट पश्चिमतर्फ सर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् ।