
मेचीनगर । मेचीनगरमा गाई गोरुमा लम्फी स्किन रोग र बङ्गुरमा अफ्रिकन स्वाइन फिवरको संक्रमण देखिए पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयको उच्चस्तरीय टोलीले स्थलगत निरीक्षण गरेको छ ।
मंगलबार संघीय सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव डा. पशुपति ढुंगाना, पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्याय, केन्द्रीय पशुपंक्षी रोग अन्वेषक प्रयोगशालाका पशु चिकित्सक डा. विकेशकुमार राउत लगायतको टोलीले मेचीनगरको प्रभावित क्षेत्रको अवलोकन गरेका हुन् ।
उनीहरुले शंकास्पद लम्फी स्किन रोग देखिएको मेचीनगर- ७ र १४ को किसानको घरमा पुगेर गाई गोरुको अवस्थाका बारेमा जानकारी लिएका थिए ।
त्यस्तै टोलीले मेचीनगर – ६ स्थित अफ्रिकन स्वाइन फिवरको संक्रमण देखिएको बबिता बङ्गुर फार्ममा पनि पुगेर निरीक्षणसहित सञ्चालकसँग छलफल गरेका थिए । अफ्रिकन स्वाइन फिवरका कारण फार्मका ८० वटा बङ्गुर मरेका थिए ।
नगरपालिका पशु सेवा शाखाका प्रमुख बिक्रम गुरुङका अनुसार मेचीनगर २, ३, ४, ७, ८, ९ र १४ र १५ नम्बर वडाका किसानका १४ वटा गाई र बाँछीमा ‘लम्फी स्किन’ रोगको संक्रमण देखिएको छ ।
उनका अनुसार उक्त रोगको आधिकारिक पुष्टि भने भइसकेको छैन । परीक्षणका लागि केन्द्रमा पठाइएको छ । करिव ४÷५ दिनमा त्यसको रिपार्ट आउने छ ।
‘ती गाई र बाछीमा अहिले सामान्य घाउजस्तो देखिएको छ’ गुरुङले भने– ‘किसानलाई घाउमा लगाउने मलम, पेनकिलर, ज्वरो, सरसफाइका लागि फिनेल, पोटासियम परनेट लगायतका औषधि दिइएको छ ।’
संक्रमित क्षेत्रको पाँचसय मिटर आसपासका किसानका गाई–गोरुहरुमा नगरपालिकाको पशु प्राविधिकको टोली गएर ‘रिङ भ्याक्सिन’ लगाएको छ ।
पशु प्राविधिक छत्र राईका अनुसार थाहा पाएदेखि अहिलेसम्म १८० वटा गाई–गोरुमा ‘रिङ भ्याक्सिन’ लगाइएको छ ।
मन्त्रालयको उच्चस्तरीय टोलीले लम्फी स्किन लक्षण देखिएका गाई–गोरुको उपचार र समुदाय समेतका गाई–गोरुमा मास भ्याक्सिन लगायत सुझाव दिएका छन् ।
हाल मेचीनगरमा २५ सय भ्याक्सिन भण्डारण गरिएको छ । अपुग भए थप भ्याक्सिन उपलब्ध गराउने टोलीले बताएको छ ।
टोलीलाई नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले उक्त रोग समुदायमा फैलिन नदिन मन्त्रालयले सहयोग गर्नु पर्ने बताएका छन् ।
नगरप्रमुख बुढाथोकीको अध्यक्षतामा उच्चस्तरीय टोलीको बैठक बसेको थियो ।
नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीका अनुसार यो रोग लागेको पशुमा उच्च ज्वरो आउने, झोक्राउने, खाना अरुचि हुने र दूध कम दिने लक्षण देखा पर्दछ ।
मेचीनगरमा लम्फी स्किन रोग र अफ्रिकन स्वाइन फिवरको संक्रमण भएको थाहा भएपछि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीको अध्यक्षतामा बसेको बैठकले स्थलगत निरीक्षण गर्न उच्चस्तरीय टोली खटाएको थियो ।