
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले टस हारेको छ । स्कटल्यान्डको फोर्थहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको छ ।
आजको खेलमा नेपालबाट नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । नन्दन नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने ४२औं खेलाडी हुन् ।
नन्दनले गएको महिना टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । यस्तै चोटका कारण आजको खेलमा नेपालका अलराउन्डर गुल्सन झा र सोमपाल कामी प्लेइङ–११ मा छैनन् ।
लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सहभागी छन् । लिग–२ को आफ्नो चौथो चरणको शृङ्खलामा नेपालले आज चौथो तथा अन्तिम खेल खेल्न लागेको हो ।
नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएको थियो । तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो ।
लिग–२ को तालिकामा नेपाल १५ खेलमा १० अङ्कसहित सातौं स्थानमा छ । यस्तै नेदरल्यान्ड्स दोस्रो र स्कटल्यान्ड तेस्रो स्थानमा छ । लिग–२ को तालिकामा अमेरिका शीर्ष स्थानमा छ ।
लिग–२ को शीर्ष ४ मा रहने टोली विश्वकपको ग्लोबल छनोटमा सीधै पुग्नेछन् । यस्तै पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने हुन्छ ।