
काठमाडौं । देशका थोरै ठाउँमा आज मौसम बदली भएको छ । विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशमा मौसम बदली देखिएको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा पनि हल्का बादल लागेको छ । पश्चिमी र स्थानीय वायुका कारण केही ठाउँमा मौसम बदली भएको मौसमविद् विनु महर्जनले जानकारी दिए।
आज कोशी र लुम्बिनी प्रदेशका थोरै ठाउँमा दिउँसोपख हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । कोशीमा मनसुनी वायुको प्रभाव छ । आजभन्दा भोलि र भोलिभन्दा पर्सि मौसम बदली हुने र पानी पर्ने क्रम बढ्ने मौसमविद् महर्जनले बताए।
पानी पर्ने क्रम बढ्दै गएमा चर्को घामबाट केही दिनमै राहत मिल्ने सङ्केत देखिएको मौसमविदले बताएका छन् । तर देशका धेरै ठाउँमा आज पनि हिजो जस्तै गर्मी कायमै रहनेछ । भोलिदेखि तापक्रम केही घट्न सक्ने र गर्मीबाट राहत पुग्ने अनुमान मौसमविदको छ ।
नेपालगञ्जमा हिजो सबैभन्दा धेरै अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस पुगेको छ । त्यस्तै धनगढीमा अधिकतम तापक्रम ४० दशमलव २ र भैरहवामा ४० डिग्री सेल्सियस मापन भएको छ । तराईरमधेसका अरू ठाउँमा पनि तापक्रम केही बढेको छ ।
यस वर्ष सरदर मितिभन्दा १५ दिन अघि नै गएको जेठ १५ गते बिहीवार राति नेपालमा पूर्वबाट मनसुन भित्रिएको थियो । तर मनसुन कोशी प्रदेशभन्दा पश्चिमतर्फ सर्न सकिरहेको छैन ।
मनसुन सक्रिय नहुँदा राम्रोसँग पानी नपर्दा देशभर गर्मी बढेको छ । अहिले पनि कोशीबाहेकका क्षेत्रमा पश्चिमी र स्थानीय वायु नै सक्रिय छ ।