२०८२ जेठ २६, सोमवार , ०६:२९:१२ बजे

Sajhamanch
'

रामदेवको योग साधना छाडेर विकासानन्दतर्फ ढल्किए साधकहरु

सोमवार, जेठ २६, २०८२

अर्जुनधारा । अर्जुनधारा नगरपालिका वडा नं. ६ मा रहेको ग्रामीण सेवा समुदाय क्लबले गत जेठ ६ गतेदेखि सञ्चालन गरेको योग साधनाले स्थानीय बासिन्दामा सकारात्मक परिवर्तन सुरु भएको पाइएको छ ।

डा. विवेकानन्द स्वामीको अवधारणामा आधारित रहेर स्थानीय परिवेश अनुसार सञ्चालन भइरहेको योग साधनाबाट सहभागीहरुमा स्मरण शक्तिमा विकास भएको, आत्मविश्वासमा वृद्धि भएको, कार्यदक्षतामा पनि गुणात्मक बृद्धि भइरहेको आयोजकले जनाएको छ ।

खुल्ला आकाश मुनी चिसो भुइँ, वार्षातको झरी तथा हिउँदको चिसोको परवाह नगरी क्लबको आँगनमा निरन्तर साधना गरेको पाइए पछि वडा नं. ६ को कार्यालयले २५ थान योगम्याट प्रदान गरेको क्लवका महासचिव तोयानाथ काफ्लेले बताएका छन् ।

अर्जुनधारालाई योग नगर घोषणा गरेको भए पनि सो साधना केन्द्र टाडा भएकाले सबैको नजर नपुगेको महासचिव काफ्लेको गुनासो छ ।

क्लबका अध्यक्ष योगेन्द्र चापागाईं पतञ्जली योग साधनाभन्दा विकासानन्द फाउन्डेशन विश्व परिवारद्वारा सञ्चालित इको स्पिरिचुअल योग आश्रम तथा मनोक्रान्त्रि विश्व परिवार बढी प्रभावकारी रहेको बताउँछन् ।

ग्रामीण सेवा समुदाय क्लवले विगत लामो समयदेखि योगगुरु रामदेवले सञ्चालन गर्ने पतञ्जली योग साधना गरिआएको थियो । उक्त योग साधनालाई स्थगन गर्दै बढी विज्ञान सम्मत ढङ्गबाट सञ्चालित, स्वदेशी अवधारणा अनुरुप भइरहेको मनोक्रान्ति योग साधनाप्रति आकर्षण बढेकोले सिंगो क्लब नै समाहित भएको पनि महासचिव काफ्ले बताउँछन् ।

क्लबको पूर्ववत योग समितिलाई पूर्णता दिँदै मनोक्रान्ति योग साधना केन्द्रमा रुपान्तरण गरिएको उनले जानकारी दिए ।

योग साधना केन्द्रको संयोजकमा हिमा खनाल आचार्य, सहसंयोजकमा डिल्लीराम गजुरेल, सहसंयोजकमा मोती योङ्गया, सचिव धनकुमार नेपाली, सहसचिव टिकादेवी सुब्बा र कोषाध्यक्षमा मोहन बिक रहेका छन् ।

केन्द्रको सदस्यहरुमा दुर्गा ढुङ्गेल, जानुका निरौला, प्रेम गुरुङ्ग, रन्जु मुखिया, शान्ता कुमारी ल्वागुन र डम्बरकुमारी दाहाल रहेका ग्रामीण सेवा समुदाय क्लवका महासचिव काफ्लेले जानकारी दिए ।

योग साधना केन्द्रले क्लवको प्रांगणमा मात्र साधनालाई सिमित नराखेर विभिन्न धार्मिक एवम् पर्यटकीय स्थलहरुमा पनि साधना सञ्चालन गर्दै आएको जनाइएको छ ।

सम्बन्धित खबर