
पाल्पा । रम्भा गाउँपालिका– २ फोक्सिङकोट र वडा नम्बर ३ रिमिघा लेकमा यार्सागुम्बा भेटिएको छ । राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरमा गरिएको परीक्षणका क्रममा बहुमूल्य जडीबुटी यार्सा नै भएकोे डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए।
रिमिघा लेकमा गएको हप्ता यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेको थियो । त्यस क्षेत्रमा झाडी सरसफाइ गरी सुन्तलाको बिरुवा लगाउन खाल्डो खन्ने क्रममा यार्सागुम्बाजस्तै देखिने वस्तु फेला परेपछि त्यसको पुष्टि गर्न प्रयोगशाला पठाइएको थियो । गाउँपालिकाले त्यस क्षेत्रमा जान रोक लगाएको छ ।
प्रयोगशालाको प्रतिवेदन आएपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर यार्सा भेटिएको क्षेत्रमा अझै केही दिन प्रवेश निषेध गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष विष्णुुप्रसाद भण्डारीले जानकारी दिनुभयो । हिमाली तथा उच्च पहाडी क्षेत्रमा विश्वकै बहुमूल्य औषधिजन्य बहुगुणयुक्त यार्सागुम्बा प्राकृतिक जडीबुटी हो ।
समुद्री सतहबाट तीन हजार पाँच सय मिटरदेखि पाँच हजार ५०० मिटरसम्मको उचाइमा यार्सागुम्बा पाइन्छ । आयुर्वेद चिकित्सककाअनुसार यो एक प्रकारको च्याउ तथा लार्भा अवस्थाको पुतलीको संयुक्त रूप हो ।