
मेचीनगर । करदाताले अब मेचीनगर नगरपालिकामा कर तिर्न जाँदा नगद बोकेर जाने समस्या समाधान भएको छ ।
आइतबार मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीले ‘डाइनामिक क्यूआर’को विधिवत रुपमा उद्घाटन गरेर यसको सुरुवात गरेका हुन् ।
नगरप्रमुख बुढाथोकी र उपप्रमुख उप्रेतीले आफ्नो जग्गाको एकीकृत सम्पति कर तिरेर डिजिटल भुक्तानी सेवाको सुरुवात गरेका थिए ।
मेचीनगरका १५ वटै वडा कार्यालय र नगरपालिकाको कार्यालयमा करदाताले व्यवसायको कर तिर्न आउँदा क्यूआरदेखि सहजै भुक्तानी गर्न सकिने भएको हो ।
नगरपालिकाको राजश्वको सफ्टवेयर सफटेक् इनफोसीसको माध्यमबाट ‘डाइनामिक क्यूआर’ मार्फत करदाताले कर तिर्न पाउने भएको आईटी शाखाले जनाएको छ ।
‘डाइनामिक क्यूआर’ कोड सिस्टमको सुरुवातसँगै करदाताका लागि नगद बोकेर जानुपर्ने बाध्यताको अन्त्य भएको हो ।
मेचीनगरमा दीर्घकालीन सेवा र परामर्शका लागि मोबाइल एप्लिकेशनमार्फत् अनलाइन पेमेन्ट गर्ने र नगरपालिकालाई पेपरलेस बनाउन नयाँ सुविधा आगामी साउनदेखि लागू गर्ने योजना रहेको छ ।
गत चैत तेस्रो हप्तादेखि नै सुरु गर्ने भनिएको ‘डाइनामिक क्यूआर’ प्राविधिक कारणले ढिलो भएको कार्यालयले जनाएको छ ।
यसअघि नै १५ वटै वडाका वडासचिव, वडाका राजश्वका कर्मचारी र नगरपालिका कार्यालयका कर्मचारीहरुलाई समेत राजश्व व्यवस्थापन सम्बन्धी अभिमुखीकरण गराइएको थियो ।
राजश्व शाखाका प्रमुख प्रेमप्रसाद पराजुलीले करदाताको आफ्नै डाइनामिक क्यूआर कोड नगरपालिकाले बनाएको बताए ।
उनका अनुसार उक्त क्यूआरबाट कर तिर्दा अन्य चार्ज लाग्दैन ।
‘साउनदेखि करदाताले घरैमा बसेर अनलाइनबाट सेवा लिन सक्नेछन् । आफ्नै क्यूआरबाट कर तिर्न, कति तिर्न बाँकी छ, कति कर तिर्यो, सबै हेर्न मिल्छ’ राजश्व शाखाका प्रमुख पराजुलीले बताए ।
उद्घाटन कार्यक्रममा नगरप्रमुख बुढाथोकी, राजश्व परामर्श समितिकी संयोजकसमेत रहेकी उपप्रमुख उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, राजश्व शाखाका प्रमुख पराजुली, सूचना प्रविधि अधिकृत अशोक भेटवाल, कार्यपालिका सदस्य चित्र धिमाल लगायतको सहभागिता थियो ।