
काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव ०६ अङ्कले घटेर २ हजार ६२९ दशमलव ८९ विन्दुमा झरेको छ ।
आज होटल र जलविद्युत् बाहेक सबै समूहको शेयर घटेकोमा बैंक समूहको शेयर १ दशमलव ०५ प्रतिशतले ओरालो लागेको छ ।
आज ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन रिभर फल्स पावर र प्योर इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । गएको बिहीवार ७ अर्ब ९७ करोडको कारोबार भएकोमा आज ३१३ वटा कम्पनीका १ करोड ९९ लाख कित्ता शेयर ९ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएको छ ।