२०८२ जेठ २४, शनिवार , ०८:४०:५४ बजे

Sajhamanch
'

बिर्तामोडमा थपिँदै कालोपत्रे सडकको क्षेत्रफल

शनिवार, जेठ २४, २०८२

बिर्तामोड । बिर्तामोड नगरपालिकामा सडक कालोपत्रेको काम तीब्र गतिमा अघि बढिरहेको छ । नगरपालिकाले संघ, प्रदेश र पालिकाकै बजेट मार्फत विभिन्न ठूला साना सडक कालोपत्रे गर्दै आएको हो ।

सोहीक्रममा वडा नम्बर ९ र १० मा १ हजार ३६० मिटर सडक कालोपत्रे गर्ने कार्य चलिरहेको हुँदैछ । शुक्रबार वडा नम्बर ९ कोलाटोलीस्थित नेत्र मार्गमा ४०० मिटर क्षेत्रमा कालोपत्रे गरिएको छ ।

५ मिटर चौडाईको सो सडकमा ९ नम्बर वडा कार्यालयको २५ लाख र बिर्तामोड नगरपालिकाको २५ लाख गरी कूल ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।

यस्तै वडा नम्बर १० स्थित तारानाथ चोकबाट पथरभिट्टा जाने सडकको १०० मिटर खण्डमा शुक्रबार नै कालोपत्रे गरिएको छ । ६ मिटर चौडाईको सो सडकमा बिर्तामोड नगरपालिकाले १५ लाख रुपैयाँ लगानी गरेको छ ।

यस्तै नम्बर १० स्थित मोहनचोकबाट कुवापानी हुँदै लक्ष्मीनारायण आधारभूत विद्यालय जाने ८४० मिटर सडक खण्डमा आज शनिबार कालोपत्रे गर्ने तयारी रहेको नगरपालिकाका प्रेस संयोजक रमेश तिवारीले जानकारी दिएका छन् ।

६ मिटर चौडाईको सो सडकमा बिर्तामोड नगरपालिकाले १ करोड रुपैयाँ बजेट लगानी गरेको छ । कालोपत्रेको काम शनिबार बेलुकीसम्ममा सम्पन्न हुने नगरपालिकाका सवईन्जिनियर डिल्ली ओलीले जानकारी दिएका छन् ।

माथि उल्लेखित तीनवटै सडक योजनाको काम गर्न पृथ्वी निर्माण सेवाले ठेक्का पाएको छ ।

कालोपत्रे योजनाको नगर प्रमुख पवित्रा महतारा प्रसाई र नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले अनुगमन गरेका थिए । नगर प्रमुख प्रसाईले आवश्यक मापदण्डको आधारमा गुणस्तरीय काम गर्न प्राविधिक र ठेकेदारलाई सुझाव दिएकी छिन् ।

सम्बन्धित खबर