
झापा । हात्तीलाई छेक्न लगाएको तारबारबाट करेन्ट लाग्दा झापाको कनकाईमा ८ जना घाइते भएका छन् । आज बिहान अन्दाजी ८ बजे कनकाई वडा नं. २ जामुनखाडी बस्ने फरकबहादुर बस्नेतको करेसाबारीमा लगाएको बोडी टिप्न जाँदा ८ जना घाइते भएका हुन् ।
घाइते हुनेहरूमा कनकाई २ बस्ने ६४ वर्षीय फरकबहादुर बस्नेत , २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की , १८ वर्षीय सलिन कार्की , ३५ वर्षीय गोपाल बस्नेत , ५८ वर्षीया डम्बरकुमारी बस्नेत , २२ वर्षीया लक्ष्मी चौहान र ४४ वर्षीय तुलाराम कार्की रहेका छन् ।
घाइतेहरूको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको र सबै जनाको अवस्था सामान्य रहेको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमान्डमा टोली खटिएर थप बुझ्ने कार्य भइरहेको जनाइएको छ ।