
विराटनगर । भरुवा बन्दुकसहित प्रहरीले मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलबाट दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार केराबारी–६ का धनबहादुर श्रेष्ठको घरभित्र बन्दुक फेला परेको थियो ।
अवैध भरुवा बन्दुक राखिएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय केराबारीका वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक) मानबहादुर जिम्बा नेतृत्वको टोलीले बिहीबार राति १०ः३० बजेतिर श्रेष्ठको घरमा छापा हानेको थियो ।
घर खानतलासी गर्ने क्रममा घरको पश्चिमतर्फको कोठामा तन्नाले छोपेर राखेको अवस्थामा १ नाल भरुवा बन्दुक बरामद गरिएको जानकारी प्रहरीले दिएको छ । बन्दुक फेला परेसँगै प्रहरीले धनबहादुरका छोरा २६ वर्षीय गणेश श्रेष्ठ र स्थानीय ३२ वर्षीय सन्तवीर तामाङलाई पक्राउ गरेको हो ।
बरामद भएको बन्दुकसहित दुवैजनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर प्रहरीले थप अनुसन्धान सुरु गरिएको छ । प्रहरीले अनुसन्धानको थप प्रक्रिया अघि बढाएको हो । पक्राउ परेकाविरुद्ध हातहतियार खरखजना ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।
बरामद भएको बन्दुक वन्यजन्तुको अवैध चोरी सिकारीमा प्रयोग गर्ने गरिएको हुनसक्ने प्रहरीको भनाइ छ ।