२०८२ जेठ २३, शुक्रवार , १२:१४:४२ बजे

Sajhamanch
'

संसद नचल्दा सभामुखले सम्झिए उखान– ‘पछार्ने थिएँ तर खुट्टै टेक्नै दिएन’

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै प्रतिपक्षी दलहरुले संसदको गतिरोध जारी राख्दा सभामुख सभामुख देवराज घिमिरे असन्तुष्ट बनेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित डिप्लोमा इन्जिनियर्स एसोशिएसनको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रतिनिधि सभा चल्न नसकेको भन्दै असन्तुष्टि प्रकट गरेका हुन् ।

सभाको बैठक चल्न नसक्दा महत्वपूर्ण विधेयक अगाडि बढाउन नपाएको भन्दै उनले कानुन बनाउन सबै गम्भीर हुनुपर्ने बताए ।

‘यहाँहरुले देख्नु भएकै छ । हाम्रो गाउँघरतिर एउटा उखान छ– म पछार्न त पछार्ने थिएँ तर मलाई खुट्टै टेक्नै दिएन’ घिमिरेले स्मरण गरे । अर्थात, संसद नचल्दा कानुन निर्माण प्रक्रिया प्रभावित भएको उनको भनाइ छ । उनले अगाडि भने, ‘धेरै विधेयकलाई कानुनको रुपमा दिन तल्लिन छौं । तर, संसदै चल्न नसक्ने परिस्थिति निर्माण भइरहेको छ ।’

कानुन बनाउने र कानुन कार्यान्वयन गर्ने संस्थालाई जवाफदेही बनाउने सन्दर्भमा सबै जिम्मेवार बन्न आवश्यक रहेको उनले बताए ।

अगाडि थपे, ‘संसदै नचलेको सन्दर्भमा संघीय निजामती सेवा सम्बन्धी ऐन अड्किएर बसेको छ । विद्यालय शिक्षा विधेयक अडिकएर बसेको छ । यो अड्किएर बस्ने अवस्था अन्त्यका लागि सबैले भूमिका खेल्न आवश्यक छ ।’

सम्बन्धित खबर