२०८२ जेठ २३, शुक्रवार , ०६:५८:०६ बजे

Sajhamanch
'

उज्वेकिस्तान र जोर्डन पहिलो पटक फिफा विश्वकपमा छनोट

शुक्रवार, जेठ २३, २०८२

काठमाडौं । उज्वेकिस्तान र जोर्डन पहिलो पटक फिफा विश्वकपमा छनोट भएका छन् । यस्तै दक्षिण कोरिया पनि विश्वकपमा छनोट भएको छ ।

विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा उज्वेकिस्तान यूएईसँग गोलरहित बराबरी खेल्दै पहिलो पटक विश्वकपमा स्थान बनाएको हो ।

एशियाली छनोटको तेस्रो चरणको समूह ‘ए’ मा इरान र उज्वेकिस्तान शीर्ष स्थानमा छन् । इरान पनि विश्वकपका लागि छनोट भइसकेको छ । त्यस्तै जोर्डनले ओमानलाई ३–० गोल अन्तरले हराउँदै समूह ‘बी’ मा दोस्रो हुँदै विश्वकपमा पहिलो पटक छनोट भएको छ ।

समूह ‘बी’ को शीर्ष स्थानमा रहँदै दक्षिण कोरिया पनि विश्वकपमा छनोट भएको छ । एशियाबाट अहिलेसम्म इरान, जापान, दक्षिण कोरिया, जोर्डन र उज्वेकिस्तान विश्वकपका लागि छनोट भएका हुन् ।

यस्तै दक्षिण अमेरिकी समूहबाट अर्जेन्टिना यसअघि नै छनोट भइसकेको छ भने आसियाना क्षेत्रबाट न्यूजील्यान्ड विश्वकपमा छनोट भएको छ । क्यानडा, मेक्सिको र अमेरिका पनि २०२६ विश्वकपको आयोजकको रूपमा छनोट भइसकेका छन् ।

यसैबीच दक्षिण अमेरिकी विश्वकप छनोटअन्तर्गतको खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । आज बिहान भएको खेलमा ब्राजिल इक्वेडरसँग गोलरहित बराबरीमा रोकिएको हो । मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टी नियुक्त भएपछिको पहिलो खेलमा ब्राजिल जीतविहिन बनेको छ ।

ब्राजिलको १५ खेलमा २२ अङ्कसहित तालिकामा चौथो स्थानमा छ । समान खेलमा २४ अङ्कसहित इक्वेडर दोस्रो स्थानमा छ । अब ब्राजिलले विश्वकप छनोट अन्तर्गत अर्को खेल जुन ११ मा पराग्वेसँग खेल्ने तालिका रहेको छ ।