२०८२ साउन १, बिहिवार , ११:००:०८ बजे

Sajhamanch
'

भारतबाट फर्केका तीन जनामा कोरोना पुष्टि

बिहिवार, जेठ २२, २०८२

बैतडी । भारतबाट फर्किएका सुदूरपश्चिम प्रदेशका तीन जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

कोभिड पुष्टि हुनेमा दुई पुरूष र एक महिला रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका महामारी सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए ।

भारतको विभिन्न शहरबाट गौरीफान्टा नाका भएर स्वदेश फर्किरहेका शङ्कास्पद ३६ जनाको परीक्षण गर्दा तीन जनामा कोभिड पुष्टि भएको र कोभिड पुष्टि भएका सबैलाई होम आइसोलेसन बस्न भनेको उनले बताए।

कोभिड पुष्टि भएका सबैको पीसीआर परीक्षणका लागि केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको निर्देशनालयका महामारी सम्पर्क व्यक्ति जोशीले जानकारी दिए।

उनका अनुसार काठमाण्डौमा पीसीआर परीक्षणपछि उनीहरूमा कोभिडको कुन भेरियन्ट रहेछ भन्ने पत्ता लाग्छ ।

भारत लगायतका विभिन्न देशमा कोभिड–१९ को सङ्क्रमण देखा परिरहेकाले नेपालमा पनि यसको सङ्क्रमण निम्तन सक्ने भएकोले सुदूरपश्चिमका सबै सीमानाकामा सतर्कता अपनाइएको छ ।

स्वास्थ्य सेवा विभागले सङ्क्रमणको महामारी निम्तन सक्ने सम्भाव्यतालाई मध्यनजर गर्दै मातहातका कार्यालय, अस्पताल र प्रयोगशाला तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

सतर्कता अपनाउन तथा तयारी अवस्थामा रहन निर्देशन दिए पनि सुदूरपश्चिममा कोभिड सङ्क्रमण भए नभएको पत्ता लगाउने किटको अभाव रहेको छ ।

सम्बन्धित खबर