२०८२ जेठ २३, शुक्रवार , १०:३९:४९ बजे

Sajhamanch
'

विपद् प्रतिकार्य पूर्वतयारी सम्बन्धी झापामा कृत्रिम घटना अभ्यास

बुधवार, जेठ २१, २०८२

झापा । मनसुन विपद् पूर्वतयारीको लागि बाढी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको छ । विपद्का घटनामा विशेष गरी बाढी आएका बेला प्रभावकारी खोज तथा उद्धारका लागि विपद् पूर्वतयारी कृत्रिम घटना अभ्यास गरिएको हो ।

यस वर्ष औसतभन्दा बढी पानी पर्ने जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेअनुसार बाढी, डुबान तथा कटानले गर्नसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्नका लागि मेचीनगर नगरपालिकाको वडा नं. १३ मा अवस्थित निचाझोडा पोखरीमा संयुक्त कृत्रिम अभ्यास गरिएको अरिमदन गण चारआलीले जनाएको छ ।

अरिमदन गण चारआलीको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा जिल्ला रेडक्रसद्वारा संयुक्तरुपमा स्थानीय स्रोत र साधनको प्रयोगबाट तयार गरिएको इम्प्रोभाइज फ्लोटिङ्ग डिभाइसको प्रयोग गरी बाढी तथा डुवानको समयमा आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउने तरिका अभ्यास गरिएको हो ।

सो अभ्यासमा डुबानमा परेका व्यक्तिहरुको रबरको डुंगा प्रयोग गरी खोज तथा उद्दार, पानी मुनिबाट उद्धार, पानी माथि डोरी प्रयोग गरी उद्धार तथा घाइते बिरामीहरुलाई प्राथमिक उपचार तथा राहत वितरणको कृत्रिम अभ्यास गरिएको थियो ।

झापा जिल्लामा परेको पानीले भन्दा इलाम जिल्लामा परेको पानीले बढी क्षति पुर्याउने हुँदा बाढी, डुबान तथा कटानले गर्नसक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न सो अभ्यास गरिएको अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले बताए ।

कार्यक्रममा जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, श्री नं. २१ बाहिनी अड्डाका सहायक बाहिनीपति महासेनानी ब्रजेश महर्जन, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख, प्रहरी उपरीक्षक राजन लिम्बू, सशस्त्र प्रहरी बल सहभागी थिए ।

यस्तै, नेपाल नं. २ गण हेडक्वाटर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक तुलबहादुर भण्डारी, राष्ट्रिय अनुसन्धान कार्यालय झापाका प्रमुख उपसचिव कुलचन्द्र नेपाल, विभिन्न पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरु, वडाध्यक्षहरु, विपद् प्रतिकार्य सम्पर्क अधिकृतहरु, विपद् प्रतिकार्यसँग सरोकार राख्ने संघ–संस्थाका प्रतिनिधिहरु एवम् विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, राष्ट्रिय सेवादलमा आवद्ध एनसीसी क्याडेट तथा स्थानीयबासीको सहभागिता थियो ।

अरिदमन गणका गणपति प्रमुख सेनानी बस्न्यातको स्वागत मन्तब्यसहित शुरु भएको कृत्रिम अभ्यास कार्यक्रममा बोल्दै जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सम्बोधन गरेका थिए ।

उनले झापा जिल्लाको विभिन्न स्थानमा भारी वर्षाको कारण बाढी, पहिरो, डुबान, कटानजस्ता प्राकृतिक विपद्बाट हुनसक्ने क्षतिलाई मध्यनजर गरी प्रभावितहरुका लागि तत्काल उद्धार तथा राहत कार्य प्रभावकारी रुपमा गर्न अभ्यास सार्थक हुने बताए ।

जिल्लामा भएका विपद्का सबै क्लस्टरलाई आ–आफ्नो तयारी गरि विपद् परेको खण्डमा तुरुन्त परिचालन भई जनधनको क्षति न्यूनीकरण गर्न आफ्नो मन्तब्यमा प्रजिअ अधिकारीले निर्देशन पनि दिए ।

अभ्यास मनसुन–५ अन्तर्गत तेस्रो चरणमा जेठ २३ गतेदेखि २९ गतेसम्म डुबान प्रभावित पालिकाहरुमा स्थलगत तालिम अभ्यास सञ्चालन गरिने भएको छ । उक्त कार्यक्रमको दौरान स्थानीयहरुलाई सहभागी गराई विपद् प्रतिकार्य सम्बन्धी कक्षा र डेमोन्स्ट्रेशन संचालन गरिने अरिदमन गणका गणपति प्रमुख सेनानी बस्न्यातले जानकारी दिए ।

सम्बन्धित खबर