२०८२ जेठ १२, सोमवार , ०८:१३:०७ बजे

Sajhamanch
'

मेचीनगरमा सञ्चालित उद्यमशीलता तालिम सम्पन्न

सोमवार, जेठ १२, २०८२

मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सीप सिकेपछि व्यवसाय गर्न गाहे नहुने बताएका छन् ।

आइतबार मेचीनगर ८ स्थित सीप विकास केन्द्रको नयाँ भवनमा राष्ट्रपति महिला सशक्तिकरण योजना अन्तरगत सीप प्रवर्धन कार्यक्रमका लागि साबुन, सर्फ, फिनेल र ट्वाइलेट क्लिनर बनाउने तालिमको समापनमा उनले यस्तो कुरा बताएका हुन् ।

‘‘आफूलाई कुन लुगाले सुहाउँछ भनेर रोजेर लगाइन्छ’, अधिकृत अधिकारीले भने– ‘त्यसरी नै जुन सीप सिकेर दक्ष बनेको हो त्यसैमा व्यवसाय गर्दा फाइदा र सहज हुनेछ । तर, त्यसका लागि मेहेनत, परिश्रम र केही रकम पनि लगानी गर्नुपर्छ ।’

महिलाहरुले गर्ने जुनसुकै उद्यमशीलताका लागि व्यवसाय उत्पादनको सामग्री र बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने उनले बताए ।

कार्यक्रममा मेचीनगर–७ का वडाध्यक्ष प्रल्हादमणि ओलीले महिलाहरुलाई सीप सिकेर रोजगार बनाउने थुप्रै तालिमहरुमा नगरपालिकाले लगानी गरेको बताए । जनता र राज्यकै सम्पति भएकाले त्यसलाई ठिक ठाउँमा सदुपयोग गर्नु पर्नेमा उनको जोड थियो ।

कार्यक्रममा सहभागीका तर्फबाट रीता कटुवाल र लीला रिजालले तालिमले रोजगार बनाउन मद्दत गरेको बताए । सिकेको सीपलाई व्यवहारमा उतार्ने र व्यवसायिक बन्ने उनीहरुको प्रतिवद्वता थियो ।

तालिममा ३० जना महिलाहरुको सहभागिता थियो । सहभागीलाई निर्मला चौहान भण्डारी र शुशीला थापाले प्रशिक्षण दिएका थिए ।

नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको तालिमको आयोजकका रुपमा जिल्ला लघु उद्यमी समूह संघ झापा रहेको थियो ।

जिल्ला लघु उद्यमी समूह संघ झापाका अध्यक्षसमेत रहेकी प्रशिक्षक भण्डारीले तालिममा सहभागी महिलाहरुलाई उद्यमी बनेर व्यवसाय गर्न आग्रह गरेकी थिइन् ।

मेचीनगर–८ का वडाध्यक्ष गिरिराज धमलाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत तालिममा सहभागी गोमा खड्काले र सञ्चालन सहभागी रीता न्यौपाने चौहानले गरेका थिए ।

सम्बन्धित खबर