
इलाम । इलाममा जङ्गली च्याउका तरकारी खाएका तीनै जनाको ज्यान गएको छ । माङसेबुङ गाउँपालिका–५ का ५५ वर्षीय अमर लावती, २५ वर्षीया मनिषा लिम्बू र १७ वर्षीया नुमा लावतीको ज्यान गएको हो ।
झापाको बिर्तामोडमा रहेको बीएनसी अस्पतालका सूचना अधिकारी डा. अनुपम घिमिरेका अनुसार ६ दिनअघि चिया बगानमा उम्रिएको च्याउ खाएका उनीहरू एक्कासी बिरामी परेका थिए ।
मनिषा र नुमाको विराट नर्सिङ अस्पताल विराटनगर र यसअघि नै ज्यान गएको थियो । लावतीको आज बीएनसी अस्पतालमा ज्यान गएको हो ।
हरेक वर्षायाममा जङ्गलबाट ल्याएको च्याउ खाँदा कैयौंको अकालमा ज्यान गइरहेको छ । नेपालमा झन्डै एक हजार ३०० प्रजातिका च्याउ पाइनेमा झन्डै १०० प्रजातिका च्याउ विषालु रहेका जडीबुटी तथा वनस्पति विज्ञ डा. मित्र पाठकले बताए।
च्याउ हेरेर विषालु छ कि छैन भन्न कठिन छ । तर किरा नलागेको, नमिठो गन्ध आएको, झुसको मात्रा धेरै भएको, रङ्गीचङ्गी, भाँच्दा दूध वा चोप निस्कने च्याउ विषालु हुन्छ ।
यस्तै विषालु च्याउको छाताका काँडा तथा गिर्खा हुन्छ । डाँठमा औँठी हुन्छ । फेदमा कचौरा वा थैलोजस्तो भाग हुन्छ । यी गुणले पनि विषालु च्याउ चिन्न सकिन्छ ।
राम्रोसँग नचिनिकन जङ्गली च्याउ नखानु नै उत्तम हुने डा. पाठकको सुझाव छ ।