
शिवसताक्षी । शिवसताक्षी नगरपालिकामा भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासी नागरिकहरूका लागि जग्गा धनीपूर्जा वितरण प्रक्रियाबारे अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
नगरपालिकाले आइतबार आयोजना गरेको कार्यक्रम भूमि समस्या समाधान आयोग झापाको समन्वयमा गरिएको हो ।
अभिमुखिकरणमा जग्गा धनीपूर्जा वितरणका लागि आवश्यक प्रक्रिया, स्थानीय तह र जिल्ला आयोगको भूमिकाबारे जानकारी दिइएको थियो । भूमि आयोगका सदस्य लक्ष्मीप्रसाद आचार्यका अनुसार आयोगले झापाको बुद्धशान्ति, कनकाई, शिवसताक्षी र दमक नगरपालिकामा भूमिहिन नागरिकलाई धनीपूर्जा वितरणको काम अघि बढाएको छ ।
हाल बुद्धशान्ति र कनकाई नगरपालिकामा करिब ५०० धनीपूर्जा वितरणको तयारी भइरहेको छ । कनकाईमा केही धनीपूर्जा वितरण भइसकेको जानकारी दिँदै आचार्यले नेपालभर १ लाख ९७ हजार २९८ जनाबाट धनीपूर्जाका लागि निवेदन परेको सुनाए । साथै १ करोड २५ लाख कित्ता जग्गा अझै दर्ता प्रक्रियामा नरहेको तथ्यांक पनि प्रस्तुत गरिएको छ ।
भूमिहिन सुकुम्बासी तथा दलितहरूलाई शहरी क्षेत्रमा ७ दशमलव ६ धुर, उपशहरी क्षेत्रमा १ कठ्ठा र ग्रामीण क्षेत्रमा ५ कठ्ठा १८ धुर आवासीय जग्गा उपलब्ध गराइनेछ ।
अव्यवस्थित बसोबासीहरूलाई पनि न्यूनतम ७ दशमलव ६८ धुरदेखि अधिकतम १ विघा ९ कठ्ठा १० धुरसम्मको जग्गा उपलब्ध गराइनेछ । कृषि प्रयोजनको जग्गाका लागि न्यूनतम ५ प्रतिशतदेखि १० प्रतिशतसम्मको मालपोत शुल्क निर्धारण गरिएको आचार्यले जनाए ।
शिवसताक्षी नगरपालिकामा हालसम्म भूमिहिन दलित ९४, भूमिहिन सुकुम्बासी ४६७ र अव्यवस्थित बसोबासी ६ हजार ३६५ गरी कूल ६ हजार ९२६ जनाको निवेदन दर्ता भएको छ । तीमध्ये १ हजार ८३० जनाको विवरण आयोगको सफ्टवेयरमा इन्ट्री भइसकेको जनाइएको छ ।
वडा नं. २ का ४९ वटा फाइल जिल्ला आयोगमा पठाइएको र ती धनीपूर्जा वितरण प्रक्रियामा रहेको नगरपालिका कार्यालयले जनाएको छ । साविक महारानी झोडा, लखनपुर, तोपगाछी, धरमपुर, सतासीधाम, शिवगञ्ज क्षेत्रका १३६ फाइलमध्ये २६ को नापजाँच सम्पन्न भइसकेको नगरपालिकाको दावी छ ।
नगरपालिकामा स्थापित भूमि आयोगका फोकल पर्सन डिल्ली नेपालका अनुसार वडा नं. २ का ५३ वटा फाइलमध्ये ४९ वटाको नापजाँच सकिएको छ र धनीपूर्जा बनाउने प्रक्रिया अघि बढेको छ ।
अभिमुखिकरणमा नगरप्रमुख मेगाहाङ्ग थोप्राले विगतमा गठन भएका आयोगहरूले काम अधुरो छाड्दा नागरिक मर्कामा परेको बताए । हाल नगरपालिकामा भूमि सम्बन्धी कार्यका लागि ५ जना जनशक्ति कार्यरत छन् भने आवश्यकता अनुसार जनशक्ति वृद्धि गरी काम तीब्र बनाउने योजना रहेको उनको भनाई छ ।
राधाकृष्ण आयोगले संकलन गरेको फाइल केन्द्रीय आयोगको सफ्टवेयरमा इन्ट्री हुन नसक्दा केही ढिलाई भएको र नयाँ निवेदन संकलन भइरहेको जानकारी दिँदै नगरप्रमुख थोप्राले अबको काम छिटो सम्पन्न गरिने पनि बताए ।
कार्यक्रममा भूमि समस्या समाधान आयोग झापाका अध्यक्ष मदन अधिकारीले अब आयोगको काम पुनः सुरुबाट होइन, निरन्तरताका साथ अघि बढ्ने स्पष्ट पारे । “अब जसरी भए पनि धनीपूर्जा वितरण हुन्छ” उनले भने, “शिवसताक्षीमा केही प्राविधिक समस्या थियो, त्यो अब समाधान हुँदैछ ।”
उनका अनुसार झापामा हाल ५०० धनीपूर्जा वितरणको तयारी भइरहेको छ । कमल गाउँपालिकाका एक नागरिकले ५१ वर्षपछि धनीपूर्जा पाएका उल्लेखनीय उदाहरण बनेको उनले बताए ।
अभिमुखिकरण कार्यक्रममा सहभागीहरुले सार्वजनिक जमिन, राजमार्ग आसपासका तथा वन क्षेत्रसँग जोडिएका जग्गामा देखिएका समस्याबारे जिज्ञासा राखेका थिए ।
कार्यक्रमको सञ्चालन नगरपालिकाका प्रशासन प्रमुख डिल्ली नेपालले गरेका थिए भने सहजीकरण भूमि आयोगका सदस्य लक्ष्मीप्रसाद आचार्यले गरेका थिए ।