
काठमाडौं । आईसीसी महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तानका खेलहरू भारतको सट्टा श्रीलङ्कामा आयोजना हुने भएको छ ।
यस वर्षको शुरूमा भारतले पुरुष च्याम्पियन्स ट्रफीका लागि पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो । यसपछि आईसीसीले दुवै देशहरूले आयोजना गर्ने प्रतियोगिताहरूका लागि ‘तटस्थ स्थान’ प्रस्तुत गरेको थियो ।
त्यहीअनुसार यही वर्षको आउँदो सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म भारतमा हुने महिला विश्वकपमा पाकिस्तानका खेलहरू श्रीलङ्काको कोलम्बोमा आयोजना हुने भएको हो ।
यस्तै भारतमा हुने खेलहरू बेङ्गलुरु, गुवाहाटी, इन्दोर र विशाखापट्टनममा हुनेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल गुवाहिटी वा कोलम्बो र फाइनल बेङ्गलुरु वा कोलम्बोमा हुनेछ ।
महिला विश्वकपमा आयोजक भारतसहित अस्ट्रेलिया, इङ्ग्ल्यान्ड, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, श्रीलङ्का, बङ्गलादेश र पाकिस्तान सहभागी हुनेछन् ।