
काठमाडौं । हिजो सामान्य बढेको शेयर बजार आज उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३५ दशमलव ७३ अङ्कले घटेर २ हजार ६५८ दशमलव ९३ विन्दुमा झरेको छ ।
आज सबै समूहको शेयर घटेकोमा बैंक समूहको शेयर २ दशमलव ३४ प्रतिशत र होटल समूहको शेयर २ दशमलव १२ प्रतिशतले ओरालो लागेको छ ।
आज सप्तकोशी विकास बैंकको शेयर सबैभन्दा धेरै झन्डै साढे ४ प्रतिशतले घटेको छ । बजार उच्च अङ्कले घटेको दिन प्योज इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ । यस्तै ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर ९ दशमलव ९४ प्रतिशतले उकालो लागेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ९ अर्ब २२ करोडको कारोबार भएकोमा आज ३१५ वटा कम्पनीका १ करोड ५५ लाख कित्ता शेयर ६ अर्ब ६७ करोड रुपैयाँमा किनबेच भएको छ ।