
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ललितपुरको ग्वार्कोमा निर्माणाधीन ‘ओभरपास’ जेठको अन्त्यसम्ममा पूरा हुने बताएका छन् ।
आज स्थलगत निरीक्षणका क्रममा मन्त्री दाहालले काम अन्तिम चरणमा पुगेको भन्दै असार १ गतेदेखि गाडी चलाउने जानकारी दिए। २०७८ सालदेखि निर्माण शुरू भए पनि प्राविधिक समस्याका कारण आयोजना समयमै सम्पन्न हुन नसकेको उनको भनाइ थियो ।
चार लेनको ओभरपास ग्वार्को चोकबाट कोटेश्वरतर्फ ३२० मिटर र सातदोबाटोतर्फ १८५ मिटर लामो छ । अहिले धमाधम कालोपत्र गर्ने काम भइरहेको छ ।
निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि ग्वार्को चोकमा भइरहेको जामको समस्या समाधान हुने अपेक्षा छ । कोटेश्वर–कलङ्की आवातजावात गर्ने गाडीले ओभरपास प्रयोग गर्ने भएकाले चोकमा रोकिन पर्दैन । यसलाई नेपालकै पहिलो ठूलो क्षमतासहितको ओभरपास संरचना दाबी गरिएको छ ।
सडक विभागले सातदोबाटो र एकान्तकुनामा पनि ओभरपास बनाउन सम्भाव्यता अध्ययन गरिसकेको छ । ग्वार्कोको सिकाइबाट सङ्घीय राजधानी काठमाण्डौ उपत्यकाका व्यस्त चोकहरूको ट्राफिक जाम घटाउने संरचना बनाउन अनुभव हुने सडक विभागको भनाइ छ ।